सत्य, निष्पक्ष र विश्वसनीय

सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्न डीआईजी खनालको निर्देशन

न्युज डेस्क
२०८३ श्रावण २२, शुक्रबार ०८:४५

विराटनगर, २२ साउन
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालले सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्न मातहतका ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्।
बिहीबार राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीको निरीक्षणका क्रममा डीआईजी खनालले दैनिक ट्राफिक जाँचलाई थप प्रभावकारी बनाउन तथा तीव्रगति, ओभरलोड र मादक पदार्थ वा लागुऔषध सेवन गरी सवारी चलाउने चालकविरुद्ध कडाइका साथ कारबाही गर्न निर्देशन दिएका हुन्।
उनले ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन राडर गन, सिसीटिभी, मापसे तथा लापसे जाँच किटजस्ता आधुनिक उपकरणको सही र अधिकतम प्रयोग गर्न पनि निर्देशन दिए।
डीआईजी खनालले सवारी दुर्घटना न्यूनीकरणका लागि लामो दूरीका यात्रुवाहक सवारीसाधनमा दुई जना चालक अनिवार्य भए/नभएको, सरकारले तोकेको भाडादर लागू भए/नभएको, आरक्षण सिटको व्यवस्था तथा टाइमकार्ड प्रणालीको प्रभावकारी कार्यान्वयन भए/नभएको नियमित रूपमा अनुगमन गर्नुपर्नेमा जोड दिए।
ट्राफिक जाँचका क्रममा सर्वसाधारणलाई अनावश्यक दुःख वा हैरानी नदिई सेवाग्राहीप्रति शिष्ट, सभ्य र मर्यादित व्यवहार गर्न उनले ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्।
निरीक्षणका अवसरमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख दीपक गिरीले ट्राफिक जनशक्ति परिचालन, सेवाप्रवाह तथा कोशी प्रदेशको ट्राफिक व्यवस्थापनको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरिया, सिनियर तथा जुनियर प्रहरी अधिकृत, मोरङ र सुनसरीमा कार्यरत ट्राफिक प्रहरी अधिकृत तथा अन्य ट्राफिक प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?