१२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्करमा आगलागी
२०८३ श्रावण २१, बिहीबार ०८:४३
रौतहट, २१ साउन
रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसर पुल नजिक पूर्व–पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्याङ्करमा आगलागी भएको छ।

म.प्र ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।
ट्याङ्करमा करिब १२ हजार लिटर पेट्रोल रहेको बताइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार दुर्घटनामा चालक भने सुरक्षित छन्।
प्रहरीका अनुसार आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमनसमेत सुचारु भएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





