सत्य, निष्पक्ष र विश्वसनीय

सुबोध स्मृति पत्रकारिता पुरस्कार पत्रकार महेशचन्द्र गौतमलाई

न्युज डेस्क
२०८३ श्रावण २४, आईतवार १७:३२

वीरगञ्ज, २४ साउन
प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ।
प्रतीक दैनिकको शनिबार बसेको बैठकले पत्रकारिता क्षेत्रमा गौतमले पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै उनलाई ५१ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कार प्रतीक प्रकाशन समूहको ४०औँ वार्षिकोत्सवका अवसरमा आगामी भदौ १ गते आयोजना हुने समारोहमा प्रदान गरिने जनाइएको छ।
यसैगरी, प्रतीक दैनिकले गत वर्षदेखि प्रदान गर्दै आएको स्वर्गीय चिरञ्जीवी कोइराला पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार अर्जुन चौधरीलाई प्रदान गर्ने निर्णय गरेको छ। उक्त पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ।
पत्रकारिता तथा सञ्चार क्षेत्रमा योगदान पुर्‍याउने सञ्चारकर्मी तथा व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले प्रतीक दैनिकले विभिन्न पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको जनाएको छ।
यस वर्ष स्तम्भकार राजेन्द्र कोइरालालाई पनि स्तम्भकार पुरस्कार प्रदान गरिने भएको छ। प्रतीक दैनिकमा नियमित रूपमा स्तम्भ लेखनमार्फत पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै उनलाई सम्मान गर्न लागिएको हो।
त्यस्तै, प्रतीक दैनिकका ठोरी संवाददाता चिरञ्जीवी सापकोटा र सहायक मेसिन अपरेटर विजय श्रेष्ठलाई पनि वार्षिकोत्सव समारोहमा पुरस्कृत गरिने भएको छ।
आगामी भदौ १ गते आयोजना हुने ४०औँ वार्षिकोत्सव समारोहमा पुरस्कार तथा सम्मान वितरणसँगै प्रतीक दैनिकको विगत, वर्तमान अवस्था र आगामी योजनाबारे समेत चर्चा गरिने जनाइएको छ। प्रतीक दैनिकले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा पत्रकारिता तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?