पूर्वमन्त्री गोविन्दराज जोशीले पाए कैद छुट
काठमाडौं, २४ साउन
पूर्वमन्त्री गोविन्दराज जोशीले भ्रष्टाचार मुद्दामा तोकिएको बाँकी कैद सजायबाट छुट पाएका छन्। विशेष अदालत र सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका जोशी अब जेल बस्नुपर्ने छैन।
ज्येष्ठ नागरिकले पाउने कैद छुटको माग गर्दै जोशीले असार २४ गते निवेदन दिएका थिए। शुक्रबार न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई कैद सजाय छुट दिने आदेश गरेको हो।
७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले ७५ प्रतिशतसम्म कैद छुट पाउने कानुनी व्यवस्था छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा जोशीले यसअघि नै ३ महिना १७ दिन थुनामा बसेका थिए। बाँकी कैद छुटको माग गर्दै उनले अदालतमा निवेदन दिएका थिए।
कैद छुटसम्बन्धी आदेश भने बहुमतबाट भएको हो। कैद सजाय पाएका व्यक्ति कारागारमा बसेपछि मात्रै छुटको निवेदन दिन पाउने कि कारागारमा नबसे पनि निवेदन दिएर सुविधा लिन पाउने भन्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएको थियो।
न्यायाधीश पौडेल र कोइरालाले कारागारमा नबसेका व्यक्तिले पनि कानुनबमोजिम कैद छुटको सुविधा पाउन सक्ने राय दिएका थिए। न्यायाधीश रावलले भने कारागारमा बसेका व्यक्तिले मात्रै यस्तो सुविधा लिन सक्ने राय राखेका थिए।
जोशीलाई २०६९ साउन १० गते विशेष अदालतले १ वर्ष ६ महिना कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ ४१ पैसा जरिवाना तोकेको थियो। त्यसको १२ वर्षपछि सर्वोच्च अदालतले विशेष अदालतको फैसला केही उल्ट्याउँदै २०८१ साउन १३ गते ९ महिना कैद र ६९ लाख २६ हजार २३८ रुपैयाँ जरिवाना तोकेको थियो।
सर्वोच्च अदालतबाट कैद तथा जरिवाना तोकिए पनि जोशीले हालसम्म कैद सजाय भुक्तान गरेका थिएनन्।
नेपाली कांग्रेसका पूर्वसहमहामन्त्रीसमेत रहेका जोशी पछिल्लो समय पार्टीभित्र छुट्टै समूह सञ्चालन गर्दै आएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





