पुनःपरीक्षणपछि ४ जीपीए, आरव र आयुशी बने एसईईका नेपाल टपर
वीरगञ्ज, २४ साउन
माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रारम्भिक नतिजामा ३.९ जीपीए प्राप्त गरेका वीरगञ्जका आरव कुमार सिंह र आयुशी चौरसियाले पुनःपरीक्षणपछि ४ जीपीए हासिल गर्दै नेपाल टपर बन्न सफल भएका छन्।
एसईईको प्रारम्भिक नतिजामा कम्प्युटर विषयमा अपेक्षाभन्दा कम ग्रेड आएपछि आरव र आयुशीले अभिभावक तथा विद्यालयको साथमा पुनर्गणनाका लागि निवेदन दिएका थिए। पुनर्गणनाबाट पनि अपेक्षित परिवर्तन नभएपछि उनीहरूले राष्ट्रिय परीक्षा बोर्डमा उत्तरपुस्तिकाको पुनःपरीक्षण गराएका थिए।
उत्तरपुस्तिका तीन जना परीक्षकबाट पुनःजाँच गरिएपछि औसत अंकका आधारमा दुवै विद्यार्थीको ग्रेड परिवर्तन भएको हो। ग्रेड परिवर्तनसँगै उनीहरूको जीपीए ४ कायम भएको र उनीहरू नेपाल टपर बन्न सफल भएको विद्यालयले जनाएको छ।
उत्कृष्ट नतिजा हासिल गरेको भन्दै गौतम माविले आरव र आयुशीलाई सम्मानस्वरूप ल्यापटप प्रदान गरेको छ। विद्यालयको प्रार्थना समयमा प्रधानाध्यापक गणेश क्षेत्री, सहायक प्रधानाध्यापक ललित कर्ण र कम्प्युटर शिक्षक टीएन चौधरीले दुवै विद्यार्थीलाई ल्यापटप हस्तान्तरण गरेका थिए।
ल्यापटप हस्तान्तरणपछि विद्यालयकी प्रबन्ध निर्देशक परीक्षा पिया लामाले विद्यार्थीलाई बधाई दिँदै आगामी शैक्षिक भविष्यका लागि शुभकामना व्यक्त गरिन्। उनले विद्यार्थीको आत्मविश्वास र आत्मबल बढाउन अभिभावक तथा शिक्षकहरूले खेलेको भूमिकाको प्रशंसा गरिन्।
विद्यालयका निर्देशक सोनाम लामाले स्थापनादेखि एसएलसी तथा एसईई परीक्षामा विद्यार्थीहरूले हासिल गर्दै आएको उपलब्धिले विद्यालयको संस्थागत उचाइ बढाएको बताए। उनले पछिल्लो सफलताले गुणस्तरीय शिक्षामा थप अघि बढ्न विद्यालयलाई प्रेरणा मिलेको उल्लेख गरे।
ल्यापटप ग्रहण गर्दै आरव र आयुशीले सफलता प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र आत्मविश्वास आवश्यक रहेको बताए। उनीहरूले शिक्षकले पढाएका विषयमा गहिरो अध्ययन गर्नुका साथै पाठ्यपुस्तक र अतिरिक्त क्रियाकलापलाई सँगसँगै अघि बढाउन विद्यार्थीहरूलाई सुझाव दिए।
विद्यालयका कोअर्डिनेटर सौराज प्रधानले विद्यार्थीहरूको आत्मविश्वास, आत्मबल र मेहनतको कदर गर्दै उच्च शिक्षाका लागि थप प्रोत्साहन गर्ने उद्देश्यले ल्यापटप प्रदान गरिएको बताए। कार्यक्रममा प्रशासन प्रमुख रमेश शर्मा, इनोभेसन प्रमुख एल्भिन रेञ्जरलगायत शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति थियो।
आरव र आयुशीको सफलता उत्कृष्ट नतिजामा मात्र सीमित छैन। प्रारम्भिक नतिजाले निराश बनाए पनि आफ्नो मेहनत र सत्यप्रतिको विश्वास नछाडे सफलता हासिल गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरणका रूपमा उनीहरूको उपलब्धिलाई लिइएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





