एसपी भट्टराईद्वारा पर्साका राजनीतिक दलका नेतासँग भेटघाट, शान्ति सुरक्षामा सहकार्य गर्ने प्रतिबद्धता
वीरगञ्ज, २६ साउन
जिल्ला प्रहरी कार्यालय पर्साका नवनियुक्त प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले पर्साका राजनीतिक दलका प्रमुख तथा पदाधिकारीहरूसँग परिचय तथा भेटघाट गरेका छन्।
जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा समसामयिक सुरक्षा चुनौतीका विषयमा छलफल गर्ने उद्देश्यले आयोजित भेटघाट कार्यक्रममा पर्साका विभिन्न राजनीतिक दलका नेता तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो।
भेटघाटका क्रममा एसपी भट्टराईले जिल्लाको शान्ति सुरक्षा कायम गर्न राजनीतिक दल, नागरिक समाज तथा स्थानीय सरोकारवालासँग आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले जिल्लाको शान्ति सुरक्षालाई विशेष प्राथमिकता दिएको र सोहीअनुसार अनुभवी प्रहरी अधिकृतलाई जिल्लाको नेतृत्वको जिम्मेवारी दिइएको बताइएको छ।
एसपी भट्टराईले पर्साको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन राजनीतिक दलका नेतृत्वसँग निरन्तर समन्वय गर्ने बताए। उनले जिल्लामा शान्ति सुरक्षा कायम राख्न प्रहरी प्रशासनसँगै सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गरे।
भेटघाटमा सहभागी राजनीतिक दलका नेताहरूले पनि जिल्लाको सुरक्षा अवस्था सुधार, अपराध नियन्त्रण तथा नागरिकको सुरक्षाका लागि प्रहरी प्रशासनसँग आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





