धनुषा जिल्ला अदालत अगाडि मिटरब्याज पीडित महिलाद्वारा आत्मदाहको प्रयास
जनकपुरधाम, २७ साउन
धनुषा जिल्ला अदालत अगाडि एक जना मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन्। जनकपुरधाम उपमहानगरपालिका–४ की फुलकुमारी रजकले बुधबार दिउँसो आत्मदाहको प्रयास गरेकी हुन्।
मिटरब्याज पीडितहरूले अदालत अगाडि नाराबाजीसहित विरोध प्रदर्शन गरिरहेका बेला रजकले आफ्नो शरीरमा पेट्रोल खन्याएकी थिइन्। प्रहरीले तत्काल उनलाई रोकेर अप्रिय घटना हुनबाट जोगाएको थियो।
रजकले अदालतका न्यायाधीशले पैसा लिएर साहुलाई छाडेको आरोप लगाएकी छन्। यद्यपि, उक्त आरोपको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।
हाल अदालतमा पक्राउ परेका साहुहरू गोपाल साह, रेखा साह र हरेराम साहविरुद्ध थुनछेक बहस भइरहेको छ। उनीहरूविरुद्धको मुद्दामा अदालतले गर्ने निर्णयको प्रतीक्षामा मिटरब्याज पीडितहरू विरोध प्रदर्शनमा उत्रिएका हुन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





