सत्य, निष्पक्ष र विश्वसनीय

वीरगञ्जमा आकस्मिक वक्तृत्वकला प्रतियोगिता सम्पन्न, निकिता यादव प्रथम

न्युज डेस्क
२०८३ श्रावण २६, मंगलवार २०:५३

वीरगञ्ज, २६ साउन
अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, वीरगञ्ज नगर इकाई समिति र रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा आकस्मिक वक्तृत्वकला प्रतियोगिता (Impromptu Speech Competition) सम्पन्न भएको छ।
वीरगञ्जस्थित बीपीसी कलेजको अडिटोरियम हलमा आयोजित प्रतियोगितामा वीरगञ्जका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले दिइएको विषयमा तत्काल आफ्ना विचार प्रस्तुत गर्दै आत्मविश्वास, तर्कशक्ति, अभिव्यक्ति क्षमता, सिर्जनशील सोच तथा नेतृत्व कौशल प्रदर्शन गरेका थिए।
प्रतियोगितामा ओम नेशनल कलेजकी निकिता यादव प्रथम, बीपीसी कलेजकी गीताञ्जली मिश्रा द्वितीय र बीपीएस कलेजकी सुधाञ्जली मेहता तृतीय भएका छन्।
प्रतियोगिताका संयोजक रोशन गुप्ता रहेका थिए। निर्णायक मण्डलमा दिपेश कर्ण, रेणुका गिरी र दिपेन्द्र कानु रहेका थिए। निर्णायकहरूले विद्यार्थीहरूको विषयवस्तु प्रस्तुत गर्ने शैली, तर्क, अभिव्यक्ति, समय व्यवस्थापन तथा समग्र प्रस्तुतीकरणका आधारमा मूल्यांकन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि मधेश विश्वविद्यालयका डिन अनञ्जय मिश्रा रहेका थिए भने कार्यक्रमको अध्यक्षता प्राज्ञिक विद्यार्थी परिषद् नेपालकी राष्ट्रिय उपाध्यक्ष श्रीमती लक्ष्मी कर्ण दत्ताले गरेकी थिइन्।
कार्यक्रममा वक्ताहरूले युवाहरू राष्ट्र निर्माणका महत्वपूर्ण आधार भएकाले उनीहरूको प्रतिभा, सिर्जनशीलता, क्षमता तथा नेतृत्व विकासका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। प्रतिस्पर्धात्मक वातावरणमा आफ्ना विचार प्रस्तुत गर्ने अवसरले विद्यार्थीहरूको आत्मविश्वास, अभिव्यक्ति क्षमता र नेतृत्व कौशल अभिवृद्धि हुने आयोजकहरूको विश्वास छ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित प्रतियोगिताले वीरगञ्जका विभिन्न कलेजमा अध्ययनरत युवाहरूलाई एउटै मञ्चमा जोड्दै विचार आदानप्रदान, अभिव्यक्ति स्वतन्त्रता, आत्मविश्वास र नेतृत्व विकासका लागि सकारात्मक वातावरण निर्माण गरेको आयोजकले जनाएको छ।
युवाहरूको प्रतिभा र सम्भावनालाई उजागर गर्दै उनीहरूलाई समाज तथा राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?