गरिमा चौधरी हत्या प्रकरणमा ५ बुँदे सहमति, आन्दोलन स्थगित
बारा, ५ भदौ
जीतपुरसिमरा उपमहानगरपालिका–१ निवासी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर उत्पन्न तनाव ५ बुँदे सहमतिपछि साम्य भएको छ।
भदौ २ गते भएको घटनापछि पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा जिल्ला सुरक्षा समिति, बाराबीच बिहीबार राति पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा वार्ता भएको थियो।
लामो छलफलपछि पाँच बुँदे सहमति कायम भएसँगै घटनाको विरोधमा हुँदै आएका चरणबद्ध आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरिएको हो।
सहमति अनुसार पीडित परिवारलाई उचित राहत तथा रोजगार व्यवस्थापनका लागि स्थानीय तहको सहभागितामा गृह मन्त्रालयसमक्ष सिफारिस गरी आवश्यक पहल गरिनेछ।
घटनामा संलग्न भएको आशंकामा केही व्यक्ति प्रहरी हिरासतमा रहे पनि अनुसन्धानका क्रममा अन्य व्यक्तिको समेत संलग्नता पुष्टि भएमा उनीहरूमाथि कानुनबमोजिम कडा कारबाही अघि बढाउने सहमति भएको छ।
त्यस्तै, जिल्लाको वर्तमान तथा भविष्यका सुरक्षा चुनौतीको विश्लेषण गरी सुरक्षा व्यवस्था थप सुदृढ बनाउँदै भरपर्दो वातावरण कायम गर्ने जिम्मेवारी जिल्ला सुरक्षा समितिले लिने सहमति भएको छ।
इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत रहँदा घटनामा लापरबाही गरेको आरोप लागेका सुरक्षाकर्मीमाथि आवश्यक कारबाही गर्नुपर्ने माग पूरा गर्ने प्रतिबद्धतापछि प्रशासन र पीडित पक्ष आन्दोलन स्थगित गर्न सहमत भएका हुन्।
क्याप्सन
गरिमा चौधरी हत्या प्रकरणमा ५ बुँदे सहमति भएपछि आन्दोलन स्थगित गरिएको छ। पीडित परिवारलाई राहत तथा रोजगारको पहल, दोषी देखिने जोसुकैलाई कानुनी कारबाही र सुरक्षा व्यवस्था सुदृढ गर्ने सहमति भएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





