वीरगन्ज बाल सुधार गृहबाट १७ वर्षीय युवक फरार
वीरगन्ज, ५ भदौ
वीरगन्जस्थित बाल सुधार गृहमा अदालतको फैसलापछि लागूऔषधसम्बन्धी कसुरमा राखिएका १७ वर्षीय युवक फरार भएका छन्।
सर्लाहीको गोडैता नगरपालिका घर भएका ‘क’ नामले चिनिने युवक मंगलबार बिहान करिब साढे ५ बजे सुधार गृहको पछाडितर्फ रहेको झ्यालबाट हाम फालेर फरार भएको पर्सा प्रहरीले जनाएको छ।
पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्र मल्लका अनुसार युवक फरार भएको जानकारी पाएलगत्तै उनको खोजीका लागि प्रहरी परिचालन गरिएको थियो। तर, फरार भएको चार दिन बितिसक्दा पनि उनको अवस्था पत्ता लाग्न सकेको छैन।
प्रहरीका अनुसार लागूऔषधसम्बन्धी कसुरमा अदालतको फैसलापछि करिब एक साताअघि मात्रै उनलाई बाल सुधार गृहमा राखिएको थियो। सुधार गृहमा राखिएको केही दिनमै उनी झ्यालबाट हाम फालेर फरार भएका हुन्।
फरार युवकको खोजीका लागि सम्भावित स्थानमा प्रहरी परिचालन गर्नुका साथै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको डीएसपी मल्लले बताएका छन्।
नाबालक भएकाले प्रहरीले उनको पहिचान ‘क’ नामबाट मात्रै सार्वजनिक गरेको जनाएको छ।
क्याप्सन: वीरगन्ज बाल सुधार गृहबाट १७ वर्षीय युवक फरार, चार दिनदेखि खोजी जारी।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





