सत्य, निष्पक्ष र विश्वसनीय

तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

न्युज डेस्क
२०८३ भाद्र ५, शुक्रबार १३:३६

काठमाडौं, ५ भदौ

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ।अधिकारकर्मी तथा मृतकका आफन्तले शुक्रबार प्रदर्शन गर्दै ‘गरिमालाई न्याय दे’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका हुन्।
गत साउन ३१ गते बिहान साढे ८ बजे जीतपुरसिमरा–१ दसधुरेकी ३ वर्षीया बालिका गरिमा चौधरी घरबाटै हराएकी थिइन् । बालिका गरिमाको तेस्रो दिन बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
बालिकाको घरभन्दा २ सय मिटर दूरीको सोही वडाको भक्तिनगर टोलका वीरबहादुर रोकाको सुनसान र जीर्ण घरमा बालिकाको शव हराएको तीन दिनपछि मृत अवस्थामा फेला परेको थियो । बालिकाको शव चार दिनदेखि कलैयाको प्रादेशिक अस्पतालमै पोस्टमार्टम गरिएदेखि नै छ । शव उठाइएको छैन ।

गरिमाका परिवारले न्याय माग्दै बारामा समेत प्रदर्शन गर्दै आएका छन्। उनका आमा–बुवासहित आफन्त सडकमा धर्ना बसेपछि वीरगञ्ज–पथलैया सडकखण्ड तेस्रो दिन पनि अवरुद्ध छ।बिहीबार राति प्रशासनले स्थानीय व्यक्तिहरूसँग पाँचबुँदे सहमति गरे पनि मृतकका परिवारले आफूहरूको अनुमतिबिना सहमति गरिएको भन्दै त्यसलाई अस्वीकार गरेका छन्।बिहीबार राति सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय, पथलैयामा बसेको वार्तामा पीडित परिवारका प्रतिनिधि, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, जिल्ला सुरक्षा समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको सहभागिता थियो ।

वार्तामा पीडित परिवारलाई उचित राहत तथा रोजगारीको व्यवस्था गर्न स्थानीय तहको सहभागितामा गृह मन्त्रालयसमक्ष सिफारिस गरी आवश्यक पहल गर्ने सहमति भएको छ।त्यस्तै, घटनामा संलग्न आरोपितहरू हिरासतमा रहे पनि अनुसन्धानका क्रममा थप दोषी देखिएमा उनीहरूमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गर्ने सहमति भएको छ।जिल्लाको वर्तमान तथा भविष्यमा हुनसक्ने सुरक्षा चुनौतीको विश्लेषण र पुनरावलोकन गरी जिल्ला सुरक्षा समितिमार्फत भरपर्दो तथा विश्वसनीय सुरक्षा व्यवस्था मिलाउने विषयमा पनि सहमति जुटेको छ।

त्यसैगरी, घटनासँग जोडिएका जिम्मेवार प्रहरी अधिकृतको सरुवालगायतका विषयमा समेत सहमति भएको बताइएको छ।किनभने बालिकाकी आमाले छोरी नभेटिएपछि तत्कालै प्रहरीमा जानकारी गराएको भएपनि खोजी कार्यका लागि समयमै चासो नदेखाएको आरोप छ ।तर, मृतकका बाबु मनोज चौधरीले गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम आएर नेपालको कानुन संशोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने माग गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?