नेपाली वादविवादमा रोयल एकेडेमीकी नलिक्षाको उत्कृष्ट प्रदर्शन, प्रथम स्थान हासिल
वीरगञ्ज ११ भदौ
गौतम माध्यमिक विद्यालय, वीरगञ्ज–१३ ले आफ्नो ५०औँ स्वर्ण जयन्ती वर्षको अवसरमा आयोजना गरेको अन्तरविद्यालय नेपाली वादबिवाद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। प्रतियोगितामा वीरगञ्जका १६ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा रॉयल एकेडेमीकी नलिक्षा प्रजापति प्रथम भएकी छन्। साउथजोन सेकेन्ड्री स्कूलकी सञ्जु कुमारी यादव द्वितीय, लिटिल फ्लावर स्कूलकी अनामिका यादव तृतीय, सेन्ट अल्फान्सोस् स्कूलकी आराध्या मलिक चौथो तथा जंगा सेकेन्ड्री स्कूलकी युनिका कार्की पाँचौँ भएकी छन्। त्यस्तै, उत्कृष्ट प्रस्तुति गरेबापत साउथजोन सेकेन्ड्री स्कूलका प्रिन्स अधिकारीलाई उत्कृष्ट वक्तृत्वकर्ताको उपाधि प्रदान गरिएको थियो।

प्रतियोगितामा ज्ञान ज्योति सेकेन्ड्री स्कूल, डीएभी स्कूल, मिनिल्याण्ड सेकेन्ड्री स्कूल, सेन्ट अल्फान्सोस् स्कूल, कावेरी एकेडेमी, दिल्ली पब्लिक स्कूल, रॉयल एकेडेमी, गुरुकुल एकेडेमी, लिटिल फ्लावर स्कूल, नेशनल इन्फोटेक कलेज, माउन्ट मकालु स्कूल, एन्जल वर्ल्ड स्कूल, लिटिल एन्जल स्कूल, साउथजोन सेकेन्ड्री स्कूल, वीरगञ्ज पब्लिक सेकेन्ड्री स्कूल र कञ्चनजङ्घा सेकेन्ड्री स्कूलका विद्यार्थी सहभागी भएका थिए।
प्रतियोगिताका लागि ‘कृत्रिम बुद्धिमत्ता (एआई) विद्यार्थीका लागि अवसर हो कि चुनौती?’, ‘पर्यावरण संरक्षणमा सरकारभन्दा नागरिकको भूमिका बढी महत्वपूर्ण’, ‘प्रकृतिमाथि विजय प्राप्त गर्ने मानवको सोच विनाशको कारण कि सफलताको आधार?’ तथा ‘प्रतिभा पलायन रोक्न राज्यको भूमिका बढी कि युवाको?’ गरी चारवटा समसामयिक विषय निर्धारण गरिएको थियो।
सहभागी विद्यार्थीहरूले तोकिएका विषयमा आफ्ना विचार, तर्क र धारणा प्रस्तुत गरेका थिए। प्रतियोगिताले विद्यार्थीमा वक्तृत्वकला, तार्किक क्षमता, आत्मविश्वास तथा सार्वजनिक रूपमा आफ्ना विचार व्यक्त गर्ने क्षमताको विकासमा सहयोग पुगेको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथमदेखि पाँचौँ स्थान हासिल गर्ने विद्यार्थी तथा उत्कृष्ट वक्तृत्वकर्तालाई ट्रफी, मेडल, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ उद्योगपति तथा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गणेश लाठ रहेका थिए। उनले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि यस्ता बौद्धिक तथा सिर्जनात्मक कार्यक्रम महत्वपूर्ण हुने बताए।
कार्यक्रममा गौतम माध्यमिक विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरेका थिए।
विद्यालयका प्रधानाध्यापक गणेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रशासन प्रमुख रमेश शर्मा, सहायक प्रधानाध्यापक ललित कर्ण, सौराज प्रधान, एल्भिन सर, जुनियर को–अर्डिनेटर सिपेन्द्र गुप्ता लगायत शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
विद्यालयले आफ्नो ५०औँ स्वर्ण जयन्ती वर्षका अवसरमा विद्यार्थीको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





