वीरगञ्ज भन्सारमा ‘सेटिङ’मा राजस्व छलीको आरोप, पुनः जाँचको विवरण गोप्य
वीरगञ्ज, १२ भदौ
वीरगञ्ज भन्सार कार्यालयको मूलगेटबाटै कर्मचारीको मिलेमतोमा ‘सेटिङ’ गरी सामान जाँचपास हुने गरेको आरोप लागेको छ। खुला सीमाबाट हुने तस्करी नियन्त्रणमा आएको दाबी भइरहेका बेला तस्कर समूहले भन्सार कार्यालयभित्रै कर्मचारीसँगको मिलेमतोमा नयाँ शैलीबाट राजस्व छली गरिरहेको भन्सार स्रोतको दाबी छ।
भन्सार स्रोतका अनुसार भारतबाट ल्याइएका लत्ताकपडा, साडी, मोटर पार्ट्स, काजु, पिस्तालगायत सामान बोकेका गाडीलाई जाँचकीसँगको मिलेमतोमा वास्तविकभन्दा कम परिमाण र कम मूल्य देखाएर जाँचपास गराउने गरिएको आरोप छ। एउटै गाडीको मात्र सामान देखाएर प्रज्ञापनपत्र तयार गरी सोही कागजातका आधारमा थप गाडीसमेत भन्सार परिसरबाट बाहिर पठाउने गरिएको स्रोतको दाबी छ।
स्रोतका अनुसार यस्तो ‘सेटिङ’बाट हुने कारोबारमा जाँचकीदेखि भन्सारका उच्च तहका कर्मचारीसम्म रकम पुग्ने गरेको आरोप छ। यसरी राज्यको ढुकुटीमा जम्मा हुनुपर्ने राजस्वको ठूलो हिस्सा कर्मचारी तथा बिचौलियाको मिलेमतोमा व्यक्तिगत लाभमा जाने गरेको दाबी गरिएको छ।
पुनः जाँच गरिएका गाडीमा के भेटियो ?
गत साउन २६ गते विभिन्न किसिमका कपडा बोकेको भारतीय पिकअप BR 03 IG 9717 नम्बरको गाडी वीरगञ्जस्थित एकीकृत भन्सार जाँचचौकी (ICP) बाट जाँचपास भएर बाहिरिएको थियो। उक्त गाडी ‘सेटिङ’मा पास भएको भन्दै उजुरी परेपछि पुनः जाँच गर्ने निर्णय गरिएको भन्सार स्रोतको दाबी छ।
स्रोतका अनुसार उक्त पिकअप करिब पाँच दिनसम्म भन्सार यार्डमा राखिएको थियो। त्यसपछि पुनः जाँच गरिएको भनिए पनि पुनः जाँचमा के–कति सामान भेटियो, वास्तविक मूल्यांकन कति कायम भयो, थप कति राजस्व निर्धारण भयो वा जरिवाना गरियो/गरिएन भन्ने विवरण सार्वजनिक गरिएको छैन।
भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालसँग यसबारे जानकारी माग्दा उनले विस्तृत विवरण दिन नमिल्ने भन्दै विषयलाई आन्तरिक मामिला भएको बताएका छन्।
यसैगरी साउन २६ गतेपछि BR 22 Q 7727 र ना.४ ख ९४३५ नम्बरका गाडीसमेत पुनः जाँच गरिएको स्रोतको दाबी छ। ती गाडीको पुनः जाँचमा प्रारम्भिक जाँचपासमा संलग्न अधिकृत तथा जाँचकीको भूमिकामाथि प्रश्न उठे पनि कार्यालयले विस्तृत विवरण सार्वजनिक नगरेको आरोप छ।
भन्सारबाट पास भएका गाडी नियन्त्रणमा लिन प्रहरीलाई समस्या
भन्सारबाट जाँचपास भएर बाहिरिएका गाडीमा सामानको परिमाण तथा मूल्यांकनमा अनियमितता भएको सूचना आउने गरेको प्रहरी स्रोतको दाबी छ। प्रहरी स्रोतका अनुसार भन्सारबाटै ‘सेटिङ’मा सामान पास भएको सूचना आउने गरे पनि त्यस्ता गाडी नियन्त्रणमा लिन समस्या हुने गरेको छ।
गाडी नियन्त्रणमा लिएपछि पुनः भन्सार कार्यालयमै बुझाउनुपर्ने भएकाले प्रहरी हिच्किचाउने गरेको स्रोतको भनाइ छ। गत भदौ ९ गते भन्सारबाट जाँचपास भएर बाहिरिएका दुईवटा गाडी जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएर पुनः भन्सार कार्यालयमै बुझाएको स्रोतको दाबी छ। तर ती गाडीमा के–कति सामान भेटियो, कति राजस्व निर्धारण भयो र कसैमाथि कारबाही भयो कि भएन भन्ने विषयमा स्पष्ट जानकारी सार्वजनिक भएको छैन।
सन्दर्भ मूल्य पुस्तिकाको व्यवस्थामा परिवर्तन भए पनि व्यापारीलाई दुःख दिएको आरोप
वीरगञ्ज ICP मा कार्यरत केही भन्सार एजेन्टहरूले भन्सार विभागले प्रयोग गर्दै आएको डाटाबेस तथा सन्दर्भ मूल्य पुस्तिकासम्बन्धी व्यवस्थामा परिवर्तन भइसके पनि व्यवहारमा व्यापारीलाई अनावश्यक दुःख दिने गरिएको आरोप लगाएका छन्।
एजेन्टहरूका अनुसार आयातकर्ताले पेश गरेको बिल–बिजकलाई आधार मानेर मूल्यांकन गर्नुपर्ने भए पनि कतिपय कर्मचारीले विभिन्न बहाना बनाएर सामान रोक्ने, व्यापारीलाई त्रसित बनाउने तथा अतिरिक्त रकम माग्ने गरेको आरोप छ।
भन्सार एजेन्टहरूले अधिकृतहरू पूर्णप्रसाद लम्साल, लेखनाथ पोखरेल र लेखनाथ भट्टराई तथा जाँचकीहरू हेमराज शर्मा, गोविन्द कँडेल र नारायण रिजालसहित केही एजेन्टसमेत अनियमिततामा संलग्न रहेको आरोप लगाएका छन्। यी आरोपहरूको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।
एजेन्टहरूको आरोपअनुसार शाखा अधिकृत लेखनाथ पोखरेल केही ट्रान्सपोर्ट सञ्चालकसँग निकट रहेको र सोही कारण BR 03 IG 9717 नम्बरको पिकअप पाँच दिनसम्म भन्सार यार्डमा राखिएको दाबी गरिएको छ।
प्रमुख भन्सार प्रशासकको भूमिकामाथि प्रश्न
भन्सार एजेन्टहरूले वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीको छवि राम्रो रहेको बताउँदै कार्यालयभित्रका अधिकृत तथा जाँचकीबाट भइरहेको भनिएको अनियमितताप्रति नेतृत्व मौन बसेको आरोप लगाएका छन्।
उनीहरूले कर्मचारीबाट हुने भनिएको गतिविधिबारे नेतृत्वले समयमै छानबिन नगर्दा प्रमुख भन्सार प्रशासकको भूमिकामाथि समेत प्रश्न उठेको बताएका छन्।
यस विषयमा प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीसँग प्रतिक्रिया माग्दा उनले यस सम्बन्धमा समाचार बनाउन तथा प्रसारण गर्न नमिल्ने बताएका छन्।
‘रि–चेक’पछि वास्तविकता सार्वजनिक गर्न माग
यतिबेला मुख्य प्रश्न भनेको भन्सारबाट जाँचपास भएका गाडी पुनः जाँच गर्दा वास्तविकभन्दा कम मूल्यांकन गरिएको हो कि सामानको परिमाण नै कम देखाइएको हो ? भन्ने हो।
यदि पुनः जाँच गर्दा प्रारम्भिक जाँचपासमा भन्दा फरक परिमाण वा मूल्यांकन फेला परेको हो भने त्यसमा गल्ती कसको थियो—सामान जाँच्ने जाँचकीको, क्लियरिङ एजेन्टको वा अन्य जिम्मेवार कर्मचारीको ? भन्ने प्रश्नसमेत उठेको छ।
त्यसैले भन्सार कार्यालयले पुनः जाँच गरिएका सबै गाडीको प्रारम्भिक जाँचपास विवरण, पुनः जाँचको परिणाम, वास्तविक सामानको परिमाण, मूल्यांकन, थप निर्धारण भएको राजस्व तथा जरिवाना, सरकारी खातामा जम्मा भएको रकम र जिम्मेवार व्यक्तिमाथि गरिएको कारबाही सार्वजनिक गर्नुपर्ने माग व्यापारी तथा भन्सार एजेन्टहरूले गरेका छन्।
निष्पक्ष छानबिनको माग
वीरगञ्ज भन्सारबाट सम्भावित राजस्व चुहावटबारे सम्बन्धित सरकारी निकायले गम्भीर र निष्पक्ष छानबिन गर्नुपर्ने माग गरिएको छ। जाँचपासका क्रममा वास्तविकभन्दा कम परिमाण वा कम मूल्यांकन गरी राजस्व छली भएको प्रमाणित भएमा राज्यलाई भएको क्षति असुलउपर गरी दोषी कर्मचारी, बिचौलिया वा अन्य संलग्न व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने उनीहरूको माग छ।
वीरगञ्ज भन्सार मुलुकको प्रमुख व्यापारिक नाकामध्ये एक भएकाले यहाँबाट हुने सम्भावित राजस्व चुहावटले राज्यको आम्दानीमा प्रत्यक्ष असर पार्न सक्छ। त्यसैले उठेका आरोपलाई निष्पक्ष रूपमा छानबिन गरी �तथ्य, प्रमाण र पुनः जाँचको वास्तविक विवरण सार्वजनिक गर्नुपर्ने माग बलियो बन्दै गएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





