सत्य, निष्पक्ष र विश्वसनीय

विपद्को बेला शवमाथि राजनीति नगर्न रास्वपा सांसद पराजुलीको आग्रह

न्युज डेस्क
२०८३ भाद्र १७, बुधबार २०:०५

काठमाडौं, १७ भदौ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले विपद्को समयमा मृतकको शवमाथि राजनीति गर्ने प्रयास भएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै पराजुलीले तत्काल पहिचान खुल्न नसकेका मृतकको राज्यले व्यवस्थापन गर्दा अन्तिम संस्कार वा गाडिएको विषयमा भ्रम फैलाउने प्रयास भइरहेको बताए।
उनले मानवीय संवेदना बिर्सिएर आफन्त गुमाएका परिवारको दुःखमाथि राजनीतिक आक्षेप र आक्रोशको राजनीति गर्नु कसैका लागि पनि सकारात्मक नहुने बताए।
पराजुलीका अनुसार अन्तर्राष्ट्रिय अभ्यासअनुसार पहिचान खुल्न नसकेका प्रत्येक मृतकको छुट्टाछुट्टै अभिलेख तयार गर्ने, उपलब्ध शारीरिक तथा फोरेन्सिक विवरण र तस्बिर सुरक्षित राख्ने, डीएनए नमुना संकलन गर्ने तथा विशिष्ट पहिचान नम्बर प्रदान गर्ने प्रक्रिया अपनाइएको छ।
त्यसैगरी शव सुरक्षित राखिएको स्थानसमेत अभिलेखीकरण गरिएको उनले बताए। परिवारजन वा आफन्तको डीएनए तथा अन्य प्रमाणसँग मिलान गरी भविष्यमा पहिचान स्थापित गर्न सकिने व्यवस्था गरिएको उनको भनाइ छ।
उनले शवलाई जमिनमुनि व्यवस्थित, सम्मानजनक र आवश्यक परेमा पुनः प्राप्त गर्न सकिने गरी अस्थायी रूपमा सुरक्षित राख्ने प्रणाली अपनाइएको स्पष्ट पारे।
मृतकको पहिचान थाहा पाउने अधिकार सुरक्षित राख्न विश्वव्यापी अभ्यासअनुसार यस्तो प्रक्रिया अपनाइएको पराजुलीले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?