महाकाली नदीमा पानीको बहाव यो वर्षकै उच्च, एक लाख ८१ हजार क्युसेक पुग्यो
कञ्चनपुर, १७ भदौ
महाकाली नदीमा पानीको बहाव यो वर्षकै उच्च विन्दुमा पुगेको छ। बुधबार बिहान एक लाख १२ हजार क्युसेक रहेको नदीको बहाव बेलुकी ९ बजे गरिएको मापनअनुसार बढेर एक लाख ८१ हजार क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।
महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि भारतीय पक्षले बनबासा पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने गरेको छ। करिब एक सय वर्ष पुरानो बनबासा पुल जीर्ण अवस्थामा रहेकाले पानीको बहाव बढेका बेला ठूला सवारीसाधन सञ्चालन गर्दा जोखिम हुने भन्दै भारतीय पक्षले रोक लगाउने गरेको हो।
सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, बैतडी र डडेल्धुरा तथा भारतको उत्तराखण्डको माथिल्लो क्षेत्रमा वर्षा हुँदा महाकाली नदीमा पानीको सतह बढ्ने गरेको छ।
पानीको बहाव निरन्तर बढिरहेकाले महाकाली नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





