विवाहको पाँच महिनामै बादशाह र ईशा रिखीको सम्बन्धविच्छेद
काठमाडौँ, १६ भदौ
भारतीय र्यापर बादशाह र पञ्जाबी अभिनेत्री ईशा रिखीले विवाह गरेको पाँच महिनामै सम्बन्धविच्छेद गरेका छन्। दुवैले सोमबार राति आ–आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत सम्बन्धविच्छेदको पुष्टि गरेका हुन्।
बादशाहले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफूहरू आपसी सहमतिमा अलग हुने निर्णयमा पुगेको बताएका छन्। पछिल्ला केही सातादेखि उनीहरूको सम्बन्धमा खटपट आएको चर्चा भइरहेका बेला बादशाहले फ्यान तथा सञ्चारमाध्यमलाई आफ्नो गोपनीयताको सम्मान गर्न आग्रह गरेका छन्।

उनले व्यक्तिगत सम्बन्धलाई लिएर कुनै पनि किसिमका अनुमान तथा अफवाह नफैलाउनसमेत अनुरोध गरेका छन्।
ईशा रिखी चर्चित पञ्जाबी अभिनेत्री तथा मोडल हुन्। उनले सन् २०१३ मा रिलिज भएको पञ्जाबी फिल्म ‘जट्ट बोय पुट्ट जट्टां दी’ बाट अभिनय यात्रा सुरु गरेकी थिइन्। त्यसपछि उनले ‘ह्याप्पी गो लक्की’, ‘बडे चंगे ने मेरे यार कमीने’, ‘ह्वाट द जट्ट’ र ‘अरदास’ लगायतका फिल्ममा अभिनय गरेकी छन्।
यो बादशाहको दोस्रो सम्बन्धविच्छेद हो। उनले यसअघि सन् २०१२ मा जैस्मिन मसीहसँग विवाह गरेका थिए। उनीहरूबाट सन् २०१७ मा छोरी जेसेमी ग्रेस मसीह सिंहको जन्म भएको थियो। विभिन्न मतभेदपछि बादशाह र जैस्मिन सन् २०२० मा कानुनी रूपमा अलग भएका थिए।
त्यसपछि बादशाहको जीवनमा ईशा रिखी प्रवेश गरेकी थिइन्। पाँच महिनाअघि विवाह गरेका उनीहरू अहिले आपसी सहमतिमा अलग भएका हुन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





