सत्य, निष्पक्ष र विश्वसनीय

रसुवा–नुवाकोटमा ‘ग्रीन आर्मी’को उपस्थिति, आधिकारिकतामाथि प्रश्न

न्युज डेस्क
२०८३ भाद्र १७, बुधबार ०५:२९

काठमाडौं, १७ भदौ
भोटेकोशी बाढीपछि उद्धार तथा राहतका लागि विभिन्न स्वयंसेवी समूह प्रभावित क्षेत्रमा पुगिरहेका बेला रसुवा र नुवाकोटमा ‘ग्रीन आर्मी’ नामको समूहको उपस्थिति देखिएपछि यसको आधिकारिकतामाथि प्रश्न उठेको छ।
बाढी प्रभावित क्षेत्रमा सैन्य पोसाकजस्तै देखिने चुस्ता लगाएर पुगेका समूहका सदस्यहरूले आफूहरू ‘ग्रीन आर्मी’ भएको बताएका छन्। सामाजिक सञ्जाल ‘एक्स’मा सार्वजनिक भएको भिडियोमा स्थानीयले समेत उक्त समूहको उपस्थितिबारे आश्चर्य व्यक्त गरेका छन्।
भिडियोमा स्थानीयले समूहका सदस्यसँग परिचयबारे प्रश्न गर्दा एक युवाले आफूहरू ‘ग्रीन आर्मी’ भएको र काठमाडौंँबाट आएको बताएका छन्।
तर, प्रभावित क्षेत्रमा उद्धार तथा खोजीका लागि पुगेको उक्त समूहले सरकारी निकायसँग आवश्यक समन्वय गरेकोबारे सुरक्षा अधिकारीहरूलाई जानकारी नभएको देखिएको छ।
बागमती प्रदेशका डीआईजी दीपक रेग्मीले ‘ग्रीन आर्मी’ नामको समूह प्रभावित क्षेत्रमा पुगेर काम गरिरहेको विषयमा आफूलाई जानकारी नभएको बताएका छन्। उनले यसबारे बुझ्ने प्रतिक्रिया दिएका छन्।
नेपाली सेनाका सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतले पनि उक्त समूहबारे आफूलाई जानकारी नभएको बताएका छन्। उनले यस विषयमा बुझिरहेको बताएका छन्।
यसैबीच, फेसबुकमा ‘ग्रीन आर्मी नेपाल काठमाडौं’ नामको पेजसमेत सञ्चालनमा रहेको भेटिएको छ। उक्त पेजमा समूहका गतिविधि तथा विपद् प्रभावित क्षेत्रमा गरिएको कामसम्बन्धी सामग्री पोस्ट गरिएको देखिन्छ।
पेजमा उल्लेख गरिएका विवरणअनुसार स्कुल तथा कलेजका विद्यार्थीलाई समेत आबद्ध गराएर संगठन निर्माण गरिएको र उनीहरूलाई खोज तथा उद्धारका काममा परिचालन गरिएको देखिन्छ। समूहको पेजमा उपलब्ध दुईवटा सम्पर्क नम्बरमा सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन।
विपद्का बेला स्वयंसेवी रूपमा उद्धार तथा राहतमा सहभागी हुनु सकारात्मक भए पनि सुरक्षा संवेदनशील क्षेत्र तथा विपद् प्रभावित स्थानमा परिचालन हुने समूहको आधिकारिकता, क्षमता र सरकारी संयन्त्रसँगको समन्वय महत्वपूर्ण हुने देखिन्छ।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय प्रशासनसमेत खोज, उद्धार र राहतमा परिचालित रहेका बेला सरकारी संयन्त्रलाई जानकारी नदिई छुट्टै समूह परिचालन हुँदा सुरक्षा तथा व्यवस्थापनमा थप चुनौती उत्पन्न हुन सक्ने प्रश्नसमेत उठेको छ।
यद्यपि, ‘ग्रीन आर्मी’ नामको उक्त समूहको कानुनी हैसियत, गठन प्रक्रिया, नेतृत्व र प्रभावित क्षेत्रमा उनीहरूले गरिरहेको कामबारे सम्बन्धित निकायबाट हालसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन।
त्यसैले तत्काल निष्कर्ष निकाल्नुभन्दा सम्बन्धित सुरक्षा निकाय तथा प्रशासनले समूहको पहिचान, उद्देश्य, क्षमता र गतिविधिबारे स्पष्ट पार्नु आवश्यक देखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?