इनिशा विक मृत्यु प्रकरण : तीन नाबालकलाई अभिभावकको जिम्मा लगाउन सर्वोच्चको आदेश
काठमाडौं, १७ भदौ
१६ वर्षीया बालिका इनिशा विकको मृत्यु प्रकरणमा जोडिएका तीन नाबालकलाई अभिभावकको जिम्मा लगाएर मुद्दाको बाँकी कानुनी प्रक्रिया अघि बढाउन सर्वोच्च अदालतले आदेश दिएको छ।
जबरजस्ती करणी गरी ज्यान मारेको अभियोग लागेका उनीहरूलाई बाल सुधारगृह पठाउने सुर्खेत जिल्ला अदालत र उच्च अदालत सुर्खेतका यसअघिका आदेश सर्वोच्च अदालतले बदर गरेको हो।
न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले परिवर्तित नाम वीरेन्द्रनगर (ध), वीरेन्द्रनगर (फ) र वीरेन्द्रनगर (न) लाई अभिभावकको जिम्मामा छाडेर मुद्दाको बाँकी कारबाही अघि बढाउन आदेश दिएको हो।
यसअघि सुर्खेत जिल्ला अदालतले १७ चैत २०८२ मा थुनछेक आदेशमार्फत तीनै जनालाई बाल सुधारगृह पठाउने निर्णय गरेको थियो। उक्त निर्णयलाई उच्च अदालत सुर्खेतले २४ वैशाख २०८३ मा सदर गरेको थियो।
उच्च अदालतको आदेशपछि बालकहरूका तर्फबाट सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता भएको थियो। सोही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले उनीहरूलाई थुनामा राखिरहनुपर्ने पर्याप्त आधार नदेखिएको निष्कर्ष निकाल्दै तल्ला अदालतका आदेश बदर गरेको हो।
सर्वोच्चको आदेशमा अभियुक्त बालकहरूले प्रहरी तथा अदालतमा बयान दिँदा आफूहरूमाथि लागेको आरोप अस्वीकार गरेको उल्लेख छ। साथै, घटनाका मुख्य आरोपी बालक परिवर्तित नाम वीरेन्द्रनगर (प) ले समेत ती तीन बालक घटनामा संलग्न रहेको भन्दै पोल नगरेको तथ्यलाई सर्वोच्चले आदेशको आधार बनाएको छ।
सर्वोच्चको आदेशसँगै तीन नाबालकलाई अभिभावकको जिम्मामा छाडेर मुद्दाको बाँकी कानुनी प्रक्रिया अघि बढाउने बाटो खुलेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





