बाढी–पहिरो प्रभावितका लागि पर्सामा राहत संकलन केन्द्र स्थापना
वीरगञ्ज, १६ भदौ
बाढी–पहिरोबाट प्रभावित नागरिकका लागि जिल्ला प्रशासन कार्यालय पर्साले राहत संकलन केन्द्र स्थापना गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दहालले मन्त्रालयको निर्देशनअनुसार प्रभावितका लागि खाद्यान्न तथा लत्ताकपडा संकलन गर्न केन्द्र स्थापना गरिएको जानकारी दिए।
दहालका अनुसार विनाशकारी बाढी–पहिरोका क्रममा पर्साबाट ४६ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये ६ जना सम्पर्कमा आइसकेका छन् भने ४० जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन व्यक्तिका आफन्तलाई जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालय पर्सामा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ।
उद्धार तथा राहत व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साबाट २५ जना प्रहरी प्रभावित क्षेत्रमा परिचालन गरिएको दहालले बताए।
हालसम्म राहत संकलन केन्द्रमा कुनै पनि राहत सामग्री प्राप्त नभएको प्रशासनले जनाएको छ। मंगलबारदेखि राहत सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाको नाम र उनीहरूले उपलब्ध गराउन चाहेको सामग्रीको विवरण संकलन गर्न थालिएको छ।
मन्त्रालयबाट आवश्यक निर्देशन प्राप्त भएपछि संकलित राहत सामग्री सम्बन्धित प्रभावित क्षेत्रमा पठाइनेछ। प्रशासनले राहत सामग्री सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई जिल्ला प्रशासन कार्यालय पर्सामा स्थापना गरिएको राहत संकलन केन्द्रमा सम्पर्क गरी आफ्नो नाम तथा उपलब्ध गराउन चाहेको सामग्रीको विवरण टिपाउन अनुरोध गरेको छ।
त्यस्तै, नगद सहयोग गर्न चाहने व्यक्तिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै रकम जम्मा गर्न प्रशासनले आग्रह गरेको छ। राहत वितरणलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन एकद्वार प्रणालीमार्फत राहत संकलन तथा परिचालन गरिने प्रशासनले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





