सत्य, निष्पक्ष र विश्वसनीय

अस्पतालको भ्यानमा ६० किलो गाँजा बरामद, चालक फरार

न्युज डेस्क
२०८३ भाद्र १७, बुधबार ११:५४

विराटनगर, १७ भदौ
विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको नाम लेखिएको भ्यानमा लुकाएर राखिएको ६० किलो गाँजा बरामद गरेको छ।
विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकबाट सशस्त्र प्रहरी बल नेपाल, बीओपी दरैयाबाट खटिएको टोलीले मंगलबार राति गाँजा बरामद गरेको हो।
राति करिब ११ बजे ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई सुरक्षाकर्मीले रोक्न खोजेका थिए। चेकजाँच गर्न खोज्दा भ्यानका चालक गाडी छाडेर फरार भएका थिए।
चालक फरार भएपछि सुरक्षाकर्मीले भ्यान खानतलासी गर्दा दुईवटा बोरामा प्याक गरिएको अवस्थामा करिब ६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा र भ्यान आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?