सत्य, निष्पक्ष र विश्वसनीय

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा रास्वपा पर्साको दीप प्रज्वलन

न्युज डेस्क
२०८३ भाद्र २३, मंगलवार १८:४७

वीरगञ्ज, २३ भदौ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्झनामा दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभा आयोजना गरेको छ।
बाढीमा ज्यान गुमाएकाहरूको तेह्रौँ दिनको पुण्यतिथिको अवसर पारेर रास्वपा पर्साले वीरगञ्जस्थित गहवामाई मन्दिर अगाडि श्रद्धाञ्जली सभा गरेको हो। कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्साका सभापति हरि पन्तले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारलाई राज्यले आवश्यक सहयोग गर्नुपर्ने बताए। उनले बाढीपछि बेपत्ता भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे।
पन्तले विपद्का कारण प्रभावित नागरिकको अवस्था सामान्य बनाउन राहत तथा पुनःस्थापनामा समेत सरकारले विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे।
श्रद्धाञ्जली सभामा रास्वपा पर्साका कार्यवाहक सभापति तुल्सा पौडेल, सचिव सुदिश प्रजापती, क्षेत्रीय सभापतिहरू जितेन्द्र मिश्र र फैयाज मियाँ तथा पालिका सभापतिहरू रमाकान्त चौधरी, चन्दन यादव र माधव बस्नेतलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो।
त्यस्तै, महमुद्दिन आलम, अक्षय द्विवेदी, गौतम श्रेष्ठ, सुमित चौरसिया, सम्साद अन्सारी र दीपेन्द्र मण्डललगायतको पनि उपस्थिति रहेको थियो। कार्यक्रम कृष्ण पासवानले सञ्चालन गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?