पूर्वी जापानमा जलप्रलयको जोखिम, टोकियोसहित सात क्षेत्रमा भारी वर्षाको चेतावनी
काठमाडौं, २४ भदौ
नेपालमा बाढीपहिरोले जनजीवन प्रभावित भइरहेका बेला जापानमा पनि प्राकृतिक प्रकोपको जोखिम बढेको छ। जापानको मौसम विज्ञान एजेन्सीले राजधानी टोकियोसहित पूर्वी जापानका सात क्षेत्रमा भारी वर्षाको चेतावनी जारी गरेको छ।
टाइफुन ‘क्रोभान्ह’बाट आएको तातो तथा आर्द्र हावा र लामो समयदेखि सक्रिय मौसमी वर्षा प्रणाली एकैसाथ प्रभावमा आएपछि पूर्वी जापानको मौसम अत्यधिक अस्थिर बनेको हो।

मौसमविद्हरूका अनुसार छोटो समयमै अत्यधिक वर्षा गराउन सक्ने ‘रेखीय वर्षा पट्टी’ (लिनियर रेनब्यान्ड) विकास हुने सम्भावना रहेको छ। यस्तो प्रणाली विकसित भए टोकियो, साइतामा, कानागावा, चिबा, शिजुओका, आइची र मी क्षेत्रमा केही घण्टामै ठूलो परिमाणमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।
सोमबारतिर वर्षा गराउने प्रणाली उत्तरतर्फ सर्ने क्रममा वर्षा अझ तीव्र हुनसक्ने मौसमविद्हरूले बताएका छन्।
भारी वर्षाका कारण पूर्वी जापानका होचा भूभाग डुबानमा पर्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा नदीको पानीको सतह अचानक बढेर बाढी आउने जोखिम उच्च रहेको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै जापानको मौसम विज्ञान एजेन्सीले तटीय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, स्थानीय प्रशासनले जारी गर्ने सुरक्षा निर्देशनको पालना गर्न र मौसमसम्बन्धी अद्यावधिक सूचना निरन्तर लिन आग्रह गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





