बारामा झण्डै तीन किलो अफिमसहित दम्पती पक्राउ
बारा, १५ असोज
बाराको सिमरा चोकबाट प्रहरीले झण्डै तीन किलो अफिमसहित एक दम्पतीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–३ का ४३ वर्षीय आईते सिंह जिम्बा र उनकी पत्नी ४८ वर्षीया रोशनी राई रहेका छन्।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पैदल हिँडिरहेका दम्पतीमाथि शंका लागेपछि उनीहरूलाई रोकेर साथमा रहेको झोला जाँच गरिएको थियो। जाँचका क्रममा झोलाभित्र लुकाएर राखिएको अवस्थामा २ किलो ९७० ग्राम अफिम बरामद भएको हो।
प्रहरीका अनुसार लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जका प्रहरी वरिष्ठ नायब निरीक्षक शेखर सिवाकोटी र इलाका प्रहरी कार्यालय सिमराका प्रहरी हवल्दार उमेश यादवको नेतृत्वमा टोली परिचालन गरिएको थियो।
बरामद अफिमसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ। उनीहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले दम्पतीको साथबाट २ किलो ९७० ग्राम अफिम बरामद भएको पुष्टि गर्नुभएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





