ठोरी अस्पताल भवन निर्माणमा अनियमितताको आशंका, अख्तियारद्वारा छानबिन सुरु
वीरगन्ज, १५ असोज
पर्साको ठोरी गाउँपालिका–१ गौतमनगरमा निर्माणाधीन १५ शय्याको ठोरी अस्पताल भवन निर्माणमा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ।

निर्माण कार्य पूरा नहुँदै ठेकेदार कम्पनीलाई ठूलो रकम भुक्तानी गरिएको विषयमा उजुरी परेपछि अख्तियारको हेटौंडास्थित कार्यालयबाट आएको टोलीले दुई दिनअघि निर्माणाधीन अस्पताल भवनको स्थलगत निरीक्षण गरेको हो।
स्थलगत निरीक्षणपछि अख्तियारको टोलीले ठोरी गाउँपालिकाको कार्यालयमा पुगेर अस्पताल भवन निर्माणसँग सम्बन्धित सम्पूर्ण कागजात तथा फाइल नियन्त्रणमा लिएर गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार चौधरीले जानकारी दिए। उनका अनुसार अनुसन्धानका लागि अख्तियारको टोलीले आवश्यक कागजात लिएर गएको हो।
ठोरी गाउँपालिका–१ गौतमनगरमा १५ शय्याको अस्पताल भवन निर्माणका लागि गाउँपालिका र राजेन्द्र निर्माण सेवा प्रालि, डडेल्धुराबीच २०७८ वैशाख २१ गते सम्झौता भएको थियो। सम्झौताअनुसार १७ करोड ४२ लाख रुपैयाँ लागतमा अस्पताल भवन निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो।
तोकिएको अवधिमा निर्माण कार्य सम्पन्न नभएपछि गाउँपालिका र निर्माण कम्पनीबीच सम्झौताको म्याद थप गरी २०८२ फागुन ३ गतेसम्म पुर्याइएको थियो। तर, थपिएको समयावधिसमेत सकिएपछि पनि अस्पताल भवन निर्माण कार्य पूरा हुन सकेको छैन।
हालसम्म भवन निर्माणको काम करिब ७० प्रतिशत मात्रै सम्पन्न भएको बताइएको छ। निर्माण कार्य अधुरै रहेको अवस्थामा गाउँपालिकाले निर्माण कम्पनीलाई हालसम्म १५ करोड ६० लाख रुपैयाँ भुक्तानी गरिसकेको विवरणसमेत सार्वजनिक भएको छ।
भवन निर्माणको काम पूरा नभई ठूलो रकम भुक्तानी गरिएको विषयमा उजुरी परेपछि अख्तियारले निर्माणसम्बन्धी कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।
यता, ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले सम्झौताअनुसार २०८२ फागुन ३ गतेभित्र भवन निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्नुपर्ने भए पनि निर्माण कम्पनीले काम अधुरै छाडेको बताए।
अध्यक्ष श्रेष्ठका अनुसार निर्माण कम्पनीले भवन निर्माणको काम अलपत्र पारेर छाडेको छ भने पछिल्लो समय ठेकेदार पक्ष गाउँपालिकाको सम्पर्कमा समेत नरहेको अवस्था छ।
अख्तियारको छानबिनबाट अस्पताल भवन निर्माणमा भएको भुक्तानी तथा निर्माण कार्यमा कुनै अनियमितता भए–नभएको विषय स्पष्ट हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





