सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ
धनुषा, २८ असोज
सामाजिक सञ्जालको दुरुपयोग गरी हिंसा फैलाउन उत्तेजित गर्ने, विभिन्न व्यक्ति तथा समुदायको मानमर्दन गर्ने र आपत्तिजनक शब्द प्रयोग गरी धम्की दिने सामग्री पोस्ट गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार लक्ष्मीनियाँ गाउँपालिका–१ निवासी करिब २० वर्षीय राज यादवलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार यादवले सामाजिक सञ्जाल टिकटकमार्फत विभिन्न व्यक्ति, समुदाय तथा संगठनको मर्यादामा आँच आउने गरी गालीगलौज गर्ने, आपत्तिजनक शब्द प्रयोग गर्ने तथा धम्की दिने किसिमका भिडियो पोस्ट गरेको पाइएको छ।
उक्त घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय धनुषाले यादवलाई असोज २७ गते राति करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–९ बाट नियन्त्रणमा लिइएको जनाएको छ।
त्यसैगरी, सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा हिंसा फैलाउन उत्तेजित गर्ने, विभिन्न व्यक्ति तथा समुदायको मानमर्दन गर्ने र आपत्तिजनक सामग्री पोस्ट गर्ने अन्य चार जनामाथि समेत अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा अशान्ति फैलाउने तथा व्यक्तिगत र सामुदायिक मर्यादामा आँच पुर्याउने गतिविधिमाथि निगरानी बढाइएको जानकारी दिएका छन्।
प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बन्न र भ्रामक, आपत्तिजनक तथा समाजमा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रसारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





