सत्य, निष्पक्ष र विश्वसनीय

मिठाई पसलमा नाम, सामग्री, म्याद र मूल्य खुलाउनुपर्ने

न्युज डेस्क
२०८३ कार्तिक १, शनिबार १९:३६
मिठाई पसलमा नाम, सामग्री, म्याद र मूल्य खुलाउनुपर्ने

काठमाडौं, ३१ असोज
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाईको स्वच्छता र गुणस्तर सुनिश्चित गर्न मिठाई व्यवसायीलाई बिक्रीस्थलमा अनिवार्य विवरण खुलाउन निर्देशन दिएको छ।

विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार मिठाई पसल, होटल तथा मिठाई भण्डारलगायतका व्यवसायले बिक्रीमा राखिएका मिठाईको नाम, प्रयोग गरिएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने अन्तिम मिति र प्रतिकिलो मूल्य उपभोक्ताले सजिलै देख्न र बुझ्न सक्ने गरी प्रदर्शन गर्नुपर्नेछ।

विभागका अनुसार उक्त व्यवस्थाले उपभोक्तालाई मिठाईमा प्रयोग भएका सामग्री, उपभोग्य अवधि र मूल्यबारे स्पष्ट जानकारी उपलब्ध गराउनुका साथै खाद्य गुणस्तर र मूल्य प्रणालीमा पारदर्शिता कायम गर्न सहयोग पुग्नेछ।

सूचनाअनुसार नयाँ व्यवस्था आगामी ११ कात्तिकदेखि पूर्ण रूपमा लागू हुनेछ। तोकिएको समयसीमाभित्र निर्देशन पालना नगर्ने व्यवसायीमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ।

यसैगरी, विभागले सम्बन्धित कार्यालयबाट आफ्नो व्यवसायको खाद्य स्वच्छताको अवस्थाअनुसार स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर मात्र व्यवसाय सञ्चालन गर्न पनि आग्रह गरेको छ।

चाडपर्वका बेला मिठाईको खपत बढ्ने भएकाले नयाँ व्यवस्थाले सुरक्षित तथा गुणस्तरीय मिठाईको उपलब्धता सुनिश्चित गर्न र उपभोक्ताको अधिकार संरक्षण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?