सत्य, निष्पक्ष र विश्वसनीय

काभ्रेमा जुवा खेल्ने–खेलाउने ६ जना पक्राउ, साढे ३ लाखभन्दा बढी नगद बरामद

न्युज डेस्क
२०८३ कार्तिक २२, शनिबार १४:१७

काभ्रे, २१ कार्तिक  काभ्रेपलाञ्चोकमा जुवा (तास) खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार शनिबार बिहान करिब ११:१५ बजे पनौती नगरपालिका ९ सुन्थानस्थित सुरेश कुमार श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरी चौकी पनौतीबाट खटिएको टोलीले उक्त स्थानमा छापा मार्दा जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको थियो। उनीहरूको साथबाट ३ गड्डी तास र नगद ३ लाख ४५ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा पनौती नगरपालिका–९ का ४१ वर्षीय सुरेश कुमार श्रेष्ठ, ४९ वर्षीय लक्ष्मण हुमागाईं, ३६ वर्षीय सुशिल राई, ३३ वर्षीय चन्द्र कार्की, पनौती नगरपालिका–५ का ४५ वर्षीय नातिराम केसी र भक्तपुरको सूर्यविनायक नगरपालिका–१ का ५५ वर्षीय मनोज बानियाँ रहेका छन्।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बनेपामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?