खरिद बिलबिनै भारततर्फ लैजान खोजिएको १३ टन जिङ्क एस धुलोसहितको ट्रक नियन्त्रणमा
इटहरी, २१ कार्तिक
खरिद बिल तथा ट्याक्स बिलबिनै भारततर्फ तस्करी गर्न लागिएको १३ टन जिङ्क एस (Zinc Ash) धुलोसहितको ट्रक राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले उर्लाबारीबाट नियन्त्रणमा लिएको छ।

ना.६ ख १३४८ नम्बरको ट्रकमा लोड गरिएको उक्त जिङ्क एस धुलोको स्टक प्रमाणित गर्ने कागजात फेला नपरेको बताइएको छ। बिर्तामोडमा रहेको भनिएको कम्पनीसमेत नक्कली रूपमा खडा गरी बिल बनाएर उक्त सामान भारततर्फ लैजान खोजिएको स्रोतको दाबी छ।
शुक्रबार राजस्व अनुसन्धान टोलीले नियन्त्रणमा लिएको ट्रक आवश्यक कागजात तथा खरिद बिलबिजकबिना फेला परेको बताइएको छ। तर, नियन्त्रणमा लिइएको ठूलो परिमाणको सामान आर्थिक चलखेलमार्फत छुटाउने तयारी भइरहेको उच्च स्रोतले दाबी गरेको छ।
शनिबार सार्वजनिक बिदाका दिनसमेत राजस्व अनुसन्धान पूर्वाञ्चल कार्यालय इटहरीबाट ट्रक छोड्ने प्रक्रिया अघि बढाउन खोजिएको स्रोतको भनाइ छ।
१३ टन जिङ्क एस धुलोको वास्तविक स्रोत, बिर्तामोडस्थित भनिएको कम्पनीको वैधता, खरिद बिलबिजक तथा सम्भावित तस्करीको विषयमा गम्भीर र निष्पक्ष अनुसन्धान हुनुपर्ने देखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





