सत्य, निष्पक्ष र विश्वसनीय

विस्फोटक पदार्थ बनाउन प्रयोग हुने ४७ किलो गन पाउडरसहित तीन जना पक्राउ

न्युज डेस्क
२०८३ कार्तिक २२, शनिबार १५:१३

सुनसरी, २१ कार्तिक  

विस्फोटक पदार्थ बनाउन प्रयोग हुने गन पाउडर (Gun Powder/Black Powder) सहित सुनसरी प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गत कात्तिक १० गते साँझ करिब ६:३० बजे धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित धरान चेकपोस्टमा इटहरीबाट धरानतर्फ जाँदै गरेको मिनी ट्रक चेकजाँच गर्ने क्रममा उक्त पदार्थ बरामद भएको हो।

को.प्र.–०२–००२ ख १६१८ नम्बरको मिनी ट्रकमा भन्सार छली ल्याइएका विभिन्न सामानसँगै बोराभित्र लुकाएर राखिएको विस्फोटक पदार्थ बनाउन प्रयोग हुने पारदर्शी सेतो ठोस पदार्थ ४७ किलोग्राम फेला परेको प्रहरीले जनाएको छ।

उक्त पदार्थसहित ट्रकमा सवार तीन जनालाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। सोही घटनामा अभद्र व्यवहार मुद्दामा समेत अनुसन्धान भइरहेको छ।

बरामद पदार्थ परीक्षणका लागि नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुसी काठमाडौं पठाइएको थियो। परीक्षण प्रतिवेदनमा उक्त पदार्थलाई विस्फोटक पदार्थ (Gun Powder/Black Powder) को कम्पोनेन्टका रूपमा उल्लेख गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा मोरङको विराटनगर महानगरपालिका–४ छिटाहा बस्ने २५ वर्षीय प्रदीप कुमार साह, जहदा गाउँपालिका–१ का ४२ वर्षीय भुपेन्द्र राजवंशी र ४२ वर्षीय कार्तिक राजवंशी रहेका छन्।

प्रहरीका अनुसार परीक्षण प्रतिवेदन प्राप्त भएपछि पक्राउ परेका व्यक्तिहरूमाथि विस्फोटक पदार्थसम्बन्धी कसुरमा समेत थप अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज ओलीले प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?