मकवानपुरको भीमफेदीमा ईभी दुर्घटना : ३ महिला र २ बालिकासहित १० जनाको मृत्यु
मकवानपुर, २६ कात्तिक
मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा ३ महिला, २ बालिका र ५ पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ।
काठमाडौंवाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी गाडी बिहीबार बिहान चिसापानीगढीमा अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो। उक्त गाडीमा सर्लाहीका यात्रु सवार थिए।

दुर्घटनामा अन्य ३ जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ भने प्रारम्भिक जानकारीअनुसार अधिकांश मृतक सर्लाही जिल्लाका रहेका छन्।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीलगायत सुरक्षाकर्मी घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएका थिए। दुर्घटनामा मृत्यु भएकाहरूको शव पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न हेटौंडा ल्याइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





