सत्य, निष्पक्ष र विश्वसनीय

वीरगञ्ज भन्सार नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

न्युज डेस्क
२०८३ कार्तिक २७, बिहीबार ११:१४

वीरगञ्ज, २६ कात्तिक
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयातमा उल्लेख्य कमी आएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खाद्यान्न आयात करिब ६३ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका अनुसार चालु आवको साउनदेखि असोजसम्म चामल, मकै, गहुँ, धान, माल्ट, फापर, कोदोलगायतका खाद्यान्न तीन करोड १६ लाख ४० हजार किलो आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आठ करोड ७० लाख ४७ हजार किलो खाद्यान्न आयात भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार चालु आवको पहिलो तीन महिनामा ६७ लाख ७३ हजार ६२९ किलो चामल आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा ९४ लाख एक हजार किलो चामल आयात भएको थियो । चामल आयातको मूल्य पनि अघिल्लो वर्षको ८९ करोड ८१ लाख रुपैयाँबाट घटेर चालु आवमा ७० करोड रुपैयाँमा झरेको छ ।

धान आयातमा पनि ठूलो गिरावट आएको छ । अघिल्लो आवको पहिलो त्रैमासमा तीन करोड ९१ लाख किलो धान आयात भएकामा चालु आवको सोही अवधिमा ६९ लाख ३५ हजार ४६० किलो मात्रै आयात भएको छ । धान आयातको मूल्य एक अर्ब ४६ करोड २८ लाख रुपैयाँबाट घटेर ३३ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, मकै आयात पनि उल्लेख्य घटेको छ । अघिल्लो आवको पहिलो तीन महिनामा तीन करोड ३६ लाख १२ हजार ८१० किलो मकै आयात भएकामा चालु आवमा ६७ लाख ३६ हजार ४३७ किलो मात्रै आयात भएको छ । मकै आयातको मूल्य एक अर्ब ८० करोड १३ लाख रुपैयाँबाट घटेर ६० करोड ९८ लाख रुपैयाँमा झरेको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

फापर, कोदो तथा अन्य खाद्यान्नको आयातमा समेत कमी आएको छ । अघिल्लो आवको पहिलो तीन महिनामा २३ लाख ४१ हजार ६५५ किलो आयात भएकामा चालु आवको सोही अवधिमा घटेर १६ लाख ४० हजार ५५५ किलोमा सीमित भएको भन्सार कार्यालयले जनाएको छ ।

वीरगञ्ज नाकाबाट खाद्यान्न आयातमा आएको यो गिरावटले प्रमुख खाद्यान्न वस्तुहरूको आयात परिमाण र मूल्य दुवैमा कमी आएको देखाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?