वीरगञ्ज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा कडा
वीरगञ्ज, २६ कार्तिक
पर्साको वीरगञ्ज कारागारबाट एक कैदी फरार भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। पोखरिया नगरपालिका–सतवरिया निवासी कैदी सुनिल साह कारागारको सुरक्षा घेरा तोडेर फरार भएका हुन्।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले कैदी फरार भएको घटनाको पुष्टि गरेका छन्। कारागारभित्र विश्वास जमाइसकेका साह आज बिहान सरसफाइका क्रममा फरार भएको बताइएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलको टोली परिचालन गरी फरार कैदीको खोजी तीव्र पारिएको छ। साह भारततर्फ भाग्न सक्ने आशङ्कामा सीमावर्ती क्षेत्र तथा मुख्य नाकाहरूमा सुरक्षा निगरानी र चेकजाँच कडा बनाइएको छ।
कडा सुरक्षा घेराभित्र रहेको कारागारबाटै कैदी फरार भएपछि कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। घटनाको वास्तविकता पत्ता लगाउन आन्तरिक छानबिन सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद चापागाईले जानकारी दिएका छन्।
फरार कैदीको खोजी जारी रहेको छ भने कारागारको सुरक्षा व्यवस्थामा कुनै कमजोरी भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





