सत्य, निष्पक्ष र विश्वसनीय

भीमफेदीमा पुनः सुमो दुर्घटना , ३ जनाको मृत्यु, ७ जना घाइते

न्युज डेस्क
२०८३ मंसिर ४, बिहीबार १०:००

मकवानपुर, २ मंसिर ।

हेटौंडा–काठमाडौं जोड्ने त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी खण्डमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

आज बिहान करिब ८ः३० बजे हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट राप्ती खोलामा खसेको हो । चालकसहित १० जना सवार रहेको उक्त सुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले उद्धार गरी घाइते तथा मृतकलाई हेटौंडा अस्पताल पुर्‍याएको थियो ।

साँघुरा मोड र जोखिमपूर्ण भौगोलिक बनावटका कारण भीमफेदी सडकखण्ड दुर्घटनाको जोखिमयुक्त क्षेत्रका रूपमा चिनिँदै आएको छ । यसअघि पनि सोही क्षेत्रमा भएको सवारी दुर्घटनामा १३ जनाले ज्यान गुमाएका थिए । उक्त घटनाको पीडा सेलाउन नपाउँदै पुनः सोही क्षेत्रमा अर्को दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी छ । मृतक तथा घाइतेहरूको पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?