सत्य, निष्पक्ष र विश्वसनीय

एमालेको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै

न्युज डेस्क
२०८३ मंसिर ३, बुधबार ०९:४७

काठमाडौँ, २ मंसिर ।

नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ । काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुने भेलामा सहभागी हुन देशभरबाट अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेका छन् ।

पार्टीको राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्ने तथा आगामी स्थानीय तहको निर्वाचनको तयारीलाई केन्द्रमा राखेर भेला आयोजना गरिएको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

भट्टका अनुसार भेलामा असोज ५ देखि ८ गतेसम्म सम्पन्न केन्द्रीय कमिटी बैठकले गरेका निर्णय कार्यान्वयनमा एकरूपता ल्याउने तथा पार्टीले गर्नुपर्ने १५ वटा महत्वपूर्ण कामका विषयमा छलफल हुनेछ । यसअघि हिजो बसेको पार्टी स्थायी कमिटी बैठकले भेलाका एजेण्डा अनुमोदन गरिसकेको छ ।

भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका पदाधिकारी, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन् ।

भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहलाई ओलीसहित वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरू रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् ।

भेलालाई एमालेले पार्टीको आगामी राजनीतिक रणनीति तय गर्ने, संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने र स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिने महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?