सत्य, निष्पक्ष र विश्वसनीय

गुल्मीमा प्रहरी निरीक्षक क्वार्टरमै मृत फेला

न्युज डेस्क
२०८३ मंसिर ३, बुधबार ०८:५१

रूपन्देही, २ मंसिर

गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी आफ्नै निवासमा मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीको सिनियर अधिकृत निवास क्वार्टरमा बस्दै आएका केसी मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन्।

बिहान साढे ९ बजेसम्म पनि उनी नउठेपछि प्रहरीले निवासमा पुगेर हेर्दा अचेत अवस्थामा फेला पारेको थियो। निवासको ढोकामा भित्रबाट चुकुल लगाइएको र लामो समयसम्म ढोका नखुलेपछि प्रहरीले झ्यालबाट प्रवेश गरी उनलाई बाहिर निकालेको थियो।

तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएका केसीलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

सुर्खेतको छिन्चु स्थायी घर भएका केसी पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए। उनी २०५५ सालमा प्रहरी सहायक निरीक्षक (असई) पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीमकिरण बोगटीका अनुसार केसीको मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?