सत्य, निष्पक्ष र विश्वसनीय

ओलीको दाबी : एमाले फेरि सरकारमा जान्छ, देश बनाउँछ

न्युज डेस्क
२०८३ मंसिर ३, बुधबार १४:०५

काठमाडौं, २ मंसिर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फेरि सरकारको नेतृत्वमा पुग्ने दाबी गरेका छन्। काठमाडौंमा मंगलबारदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले एमाले पुनः सरकारमा जाने र देश विकासको नेतृत्व गर्ने बताएका हुन्।

ओलीले एमाले यसअघि पनि कसैको कृपा वा आशीर्वादबाट नभई जनताको समर्थन र संघर्षबाट सरकारमा पुगेको जिकिर गरे।

‘संघर्षको मैदानबाट आएर लडेर जितेर कसैको कृपाले हामी सरकारमा गएका थिएनौँ। जनताको कृपाले गएका हौँ,’ उनले भने, ‘अरू कुनै प्रतिक्रियावादी शक्ति, जनविरोधी शक्ति, देशद्रोही शक्तिका कृपा र आशीर्वादमा नेकपा एमाले सरकारमा गएको होइन।’

उनले एमाले फेरि सरकारमा जाने दाबी गर्दै विपक्षीहरूलाई आफ्नो भनाइ स्पष्ट रूपमा सुन्न चुनौतीसमेत दिए।

‘फेरि नेकपा एमाले सरकारमा जान्छ। कान खोलेर सुने हुन्छ। देश बनाउँछ नेकपा एमालेले। विकासका काम जुन अगाडि सारेको छ, नेकपा एमालेले ती विकासका कामलाई फेरि अगाडि बढाउँछ,’ ओलीले भने।

उनले एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना नछोड्ने पनि बताए। बरु उक्त सपना अझ स्पष्ट ढंगले देख्ने र त्यसलाई पूरा गर्ने दिशामा पार्टी अघि बढ्ने उनको भनाइ थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?