सत्य, निष्पक्ष र विश्वसनीय

बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी सोधपुछका लागि जिल्ला तानिए

न्युज डेस्क
२०८३ असार २५, बिहीबार ११:०३

काठमाडौ, २५ असार
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका विषयमा सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय कैलाली बोलाइएको छ।
घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रममा बोल्दै डीएसपी चौधरीले, “हामी बालेनको पुलिस पनि होइनौं, नेपाल पुलिस हो। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो। केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो,” भन्ने अभिव्यक्ति दिएका थिए।
कार्यक्रममा उनले आफ्नो भनाइ मन परे ताली बजाउन आग्रह गरेपछि सहभागी विद्यार्थीहरूले ताली बजाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उनले नेपाल प्रहरीले लगाउने बर्दी राष्ट्रपतिले समेत लगाउन नसक्ने उल्लेख गर्दै आफू २०७० सालमा १३८ जनामध्ये छनोट भएर प्रहरी सेवामा आएको र “हामी भोट हालेर, टीका लगाएर वा दारु–भात खाएर आएका होइनौं” समेत बताएका थिए।
सार्वजनिक रूपमा उनले उक्त भिडियो बाहिर नल्याउन आग्रह गरेका भए पनि भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले चर्चा पाएको हो।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले डीएसपी चौधरीलाई सोधपुछका लागि जिल्ला बोलाइएको पुष्टि गर्दै यसलाई छानबिनभन्दा पनि उक्त अभिव्यक्ति कुन प्रसंगमा र कसरी दिइएको हो भन्ने विषयमा सामान्य सोधपुछका रूपमा हेरिएको बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?