ललितपुरमा २ केजी ७८३ ग्राम पोल्लेनसहित एक जना पक्राउ
ललितपुर, ५ असोज
जिल्ला प्रहरी परिसर ललितपुरले २ केजी ७८३ ग्राम पोल्लेन (गाँजाको धुलो) सहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार असोज ३ गते राति करिब ११:३० बजे ललितपुर महानगरपालिका–२५, सत्यकुञ्ज फूलबारी मार्ग क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले निगरानी बढाएको थियो। सो क्रममा शंकास्पद गतिविधि देखिएपछि एक जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा प्लास्टिकमा प्याक गरिएको २ केजी ७८३ ग्राम पोल्लेन बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने व्यक्ति मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ घर भई हाल ललितपुर महानगरपालिका–२५, सत्यकुञ्ज बस्ने २८ वर्षीय बहादुर थोकर रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट एक थान डिजिटल तराजु समेत बरामद गरेको छ। पक्राउ परेका व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





