शिक्षा समता शुल्क फिर्तापछि निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलायो
काठमाडौं, ५ साउन
सरकारले निजी विद्यालय तथा कलेजमा लागू गर्ने भनिएको ३ प्रतिशत शिक्षा समता शुल्क तत्काल नलिने निर्णय गरेपछि शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले निजी विद्यालय सञ्चालकलाई छलफलका लागि बोलाएको छ।
मन्त्रालयले आज अपराह्न ४ बजेका लागि छलफल तय गरेको प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले जानकारी दिएका छन्।
सरकारको निर्णयप्रति निजी विद्यालय सञ्चालकहरूले स्वागत जनाएका छन्। प्याब्सनका निवर्तमान अध्यक्ष डिके ढुंगानाले शिक्षा समता शुल्क फिर्ता लिने निर्णयलाई ‘जनमुखी निर्णय’ भन्दै सरकारको कदमको स्वागत गरेका छन्।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले निजी शिक्षा क्षेत्रमा ३ प्रतिशत शिक्षा समता शुल्क लागू गर्ने व्यवस्था गरेपछि निजी विद्यालय तथा कलेजहरूले साउन १ गतेदेखि अभिभावकलाई सो शुल्कसहितको बिल पठाउन थालेका थिए।
तर नागरिकस्तरबाट व्यापक विरोध भएपछि सरकारले उक्त निर्णय तत्कालका लागि कार्यान्वयन नगर्ने घोषणा गरेको हो। त्यसलगत्तै मन्त्रालयले निजी विद्यालय सञ्चालकसँग आगामी नीति तथा व्यवस्थाबारे छलफल गर्न बैठक बोलाएको जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





