पर्साको जगरनाथपुरबाट २० किलोभन्दा बढी गाँजासहित भारतीय नागरिक पक्राउ
वीरगञ्ज, ५साउन
पर्सा प्रहरीले २० किलो ६८७ ग्राम गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार जगरनाथपुर गाउँपालिका–४ स्थित हुलाकी सडकमा चितवनबाट भारतको सुगौलीतर्फ जाँदै गरेको बीआर०६ बीएच ५४९६ नम्बरको भारतीय कारमा शंका लागेपछि चेकजाँच गरिएको थियो।
चेकजाँचका क्रममा कारको पछाडिको सिटमुनि प्लास्टिकको झोलाभित्र लुकाएर राखिएको अवस्थामा २० किलो ६८७ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
गाँजासहित पक्राउ पर्ने व्यक्ति भारतको बिहार राज्य, सितामढी जिल्ला, तालका ग्राम पञ्चायत निवासी ३३ वर्षीय रहमद अन्सारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका अन्सारी, बरामद गाँजा तथा कार नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





