प्रदेश सरकारमा सहकार्य गर्ने एमाले–नेकपाबीच लिखित सहमति
काठमाडौं, १० साउन
नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गर्दै प्रदेश सरकार सञ्चालनमा संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका हुन्।
दुई दलबीच भएको सहमतिअनुसार प्रदेशसभामा देखिएको बजेट निर्माणसम्बन्धी असमझदारी, बजेटविहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धा अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउने उद्देश्य राखिएको छ।

सहमतिपत्रमा प्रदेशसभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने उल्लेख गरिएको छ। नेतृत्व बाँडफाँटअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ।
यस्तै, मधेश र गण्डकी प्रदेश सरकारको नेतृत्वका विषयमा भने अन्य राजनीतिक दलहरूसँग परामर्श गरी आवश्यक निर्णय लिने सहमतिपत्रमा उल्लेख गरिएको छ।
दुई दलले प्रदेश सरकारमा सहकार्यले राजनीतिक स्थायित्व कायम गर्दै विकास निर्माणका कामलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





