वीरगन्जको होटलमा लागूऔषधसहित दुई पक्राउ, २०० निटकोर ट्याब्लेट र ओनरेक्स बरामद
वीरगन्ज, १० साउन
वीरगन्जस्थित एक होटलबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–६ निवासी ५२ वर्षीय उत्तम कुमार पाठक र पर्साको वीरगन्ज महानगरपालिका–२ निवासी ३५ वर्षीय ओसिम ठकुराई रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज–१६ रजतजयन्ती चोकस्थित जय नेपाल होटलको कोठा नम्बर ११८ मा लागूऔषधको बिक्री–वितरण भइरहेको विशेष सूचनाका आधारमा आइतबार बिहान प्रहरी चौकी ईनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो पर्साको संयुक्त टोलीले छापा मारेको थियो।
छापामार कारबाहीका क्रममा कोठामा बसेका दुवै जनाको साथबाट निटकोर ट्याब्लेट २०० पिस र ओनरेक्स २ बोतल बरामद भएको प्रहरीले जनाएको छ।
लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





