सत्य, निष्पक्ष र विश्वसनीय

अकलामाई मन्दिर नजिक अचेत भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु

न्युज डेस्क
२०८३ श्रावण ११, सोमबार ०९:०३

चितवन, ११ साउन
पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिक अचेत अवस्थामा फेला परेका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका–९ घर भई हाल गैंडाकोट नगरपालिका–१२ मा बस्दै आएकी ३८ वर्षीया कविता राई र भोजपुर घर भई गैंडाकोट नगरपालिका–१० स्थित एक गाई फार्ममा कार्यरत ४५ वर्षीया कान्छी राई रहेका छन्।

स्थानीयवासीले आइतबार दिउँसो मन्दिर नजिक दुवै महिलालाई अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचनापछि अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उद्धार गरी उपचारका लागि नगर अस्पताल भेँडाबारी पुर्‍याएको थियो।

अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले दुवै महिलालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुवै महिलाको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरिसकेको जनाएको छ भने मृतकको शव पोस्टमार्टमका लागि पठाइएको छ। पोस्टमार्टम रिपोर्ट र अनुसन्धानबाट प्राप्त हुने तथ्यका आधारमा घटनाको वास्तविक कारण खुल्ने प्रहरीको विश्वास छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?