सत्य, निष्पक्ष र विश्वसनीय

शरीरमा आगो लगाएकी धनगढीकी युवतीको उपचारका क्रममा मृत्यु

न्युज डेस्क
२०८३ श्रावण ११, सोमबार ०९:३२

धनगढी, ११ साउन
धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरीको शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्। घटनापछि आफन्तले तत्काल उद्धार गरी उनलाई सेती प्रादेशिक अस्पताल, धनगढी पुर्‍याएका थिए।

अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको बताएका थिए। गम्भीर अवस्था भएपछि थप उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाउने तयारी गरिएको भए पनि आफन्तले उनलाई काठमाडौं लैजाने निर्णय गरेका थिए।

प्रहरीका अनुसार काठमाडौं लैजाँदै गर्दा आइतबार राति बाटोमै चौधरीको मृत्यु भएको हो। आफन्तले सोमबार बिहान करिब ७ बजे प्रहरीलाई घटनाबारे जानकारी दिएका थिए।

हाल उनको शव सेती प्रादेशिक अस्पताल, धनगढीमा राखिएको छ। घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?