सत्य, निष्पक्ष र विश्वसनीय

नारायणी अस्पताल घटनाको विरोधमा आज देशभर आकस्मिक बाहेकका सेवा बन्द

न्युज डेस्क
२०८३ श्रावण १२, मंगलवार ०९:४१

काठमाडौं, १२ साउन
नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आज (मंगलबार) देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ।

संघले सोमबार जारी गरेको विज्ञप्तिअनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण गरी गम्भीर चोट पुर्‍याइएको तथा अस्पतालमा तोडफोड गरिएको थियो।

घटनाका दोषीलाई कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा भइरहेको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को उपस्थितिमा प्रहरी प्रमुखले बल प्रयोग गर्दै चिकित्सकहरूमाथि गालीगलौज र दुर्व्यवहार गरेको आरोप संघले लगाएको छ। उक्त घटनाको संघले कडा शब्दमा भर्त्सना गरेको छ।

नेपाल चिकित्सक संघले आक्रमणमा संलग्न व्यक्तिहरूलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै, चिकित्सकहरूमाथि दुर्व्यवहार गरेको आरोप लागेका पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि पनि तत्काल कारबाही गर्न आग्रह गरेको छ।

राज्यको दमनकारी व्यवहारको विरोधस्वरूप आजका लागि आकस्मिक बाहेकका सेवा सांकेतिक रूपमा बन्द गरिएको संघले जनाएको छ। आन्दोलनका थप कार्यक्रमबारे निर्णय आज बस्ने सर्वपक्षीय भेलाबाट गरिने पनि विज्ञप्तिमा उल्लेख छ।

महासचिव डा. विश्वराज दवाडी र अध्यक्ष डा. बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनका कारण बिरामीहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?