सत्य, निष्पक्ष र विश्वसनीय

निर्माणाधीन पुल नजिकको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

न्युज डेस्क
२०८३ श्रावण १२, मंगलवार १६:४४

वीरगन्ज, १२ साउन
वीरगन्ज महानगरपालिका–२६ चक्रदहस्थित निर्माणाधीन पुल नजिक रहेको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही वडाको सुगौली निवासी प्रभु ठाकुरकी ५ वर्षीया छोरी पुच्की ठाकुर र ३ वर्षीया छोरी घघरी ठाकुर रहेका छन्। दुवै बालिका मंगलबार बिहान खाल्डोको पानीमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, सोमबार बिहान दुवै बालिका आफ्ना हजुरबुबा किशोरी ठाकुरसँग खेतमा गएका थिए। खेतमा पुगेपछि हजुरबुबाले उनीहरूलाई त्यहीँ बस्न आग्रह गर्दै हजुरआमालाई बोलाउन गएका थिए। केही समयपछि फर्केर आउँदा दुवै बालिका खेतमा नभेटिएपछि परिवारले गाउँघर तथा आफन्तकहाँ खोजी गरेका थिए।

खोजीका क्रममा पनि बालिका फेला नपरेपछि उनीहरूकी आमा अन्तिमा देवीले सोमबार राति इलाका प्रहरी कार्यालय सुगौलीमा हराएको जानकारी गराएकी थिइन्।

सूचना प्राप्त भएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो। सोही क्रममा मंगलबार बिहान करिब ६ बजे वडा नम्बर २६ कै चक्रदहस्थित निर्माणाधीन पुल नजिक रहेको खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा दुवै बालिकाको शव फेला परेको पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

प्रहरीले दुवै बालिकाको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?