चुरियामाईमा भारतीय टेलरको ठक्करले पाँच सवारी साधनमा क्षति
बारा, २३ साउन
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक हेटौँडा–पथलैया सडकखण्डमा भारतीय टेलर ट्रकले पाँच वटा सवारी साधनलाई ठक्कर दिँदा ठूलो भौतिक क्षति भएको छ। दुर्घटनामा मानवीय क्षति भने भएको छैन।
बिहीबार राति करिब १० बजे हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको HR 69 D 7969 नम्बरको भारतीय टेलर ट्रक ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई विपरीत लेनमा प्रवेश गरेपछि पथलैयातर्फबाट जाँदै गरेका सवारी साधनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ट्रकको ठक्करबाट चितवन भरतपुर–१० का मनोज गुरुङले चलाएको ना.१ ज ६८८१ नम्बरको कार, नवलपुर–८ का दुर्गा बहादुर पौडेलले चलाएको लु.प्र.०१–००१ च ०१२४ नम्बरको भ्यान, भरतपुर–११ का आशिष श्रेष्ठले चलाएको बा.१७ च ७७८३ नम्बरको ओम्नी भ्यान, हेटौँडा–८ का राजु कुमार भेटवालले चलाएको ना.४ च ५३३४ नम्बरको योद्धा पिकअप र हेटौँडा–९ का नितेश पौडेलले चलाएको बा.प्र.०३–००१ ज ३६२ नम्बरको ईभी गाडीमा क्षति पुगेको छ।
दुर्घटनामा सवारी साधनहरूको अगाडिको भाग, सिसा तथा साइडमा ठूलो क्षति पुगेको छ। तर, दुर्घटनामा संलग्न सबैको ज्यान जोगिएको प्रहरीले जनाएको छ।
दुर्घटना गराएपछि भारतीय टेलरका चालक फरार भएका छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट करिब १० किलोमिटर उत्तरमा भएको दुर्घटनाका कारण केही समय राजमार्ग एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको थियो। प्रहरीले क्रेनको प्रयोग गरी पल्टिएको ट्रक तथा क्षतिग्रस्त सवारी साधनहरू सडकबाट हटाएपछि राति करिब २ बजेदेखि राजमार्ग दुवैतर्फ पूर्ण रूपमा सञ्चालनमा आएको थियो।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





