अपाङ्गतामैत्री सरकारी पोर्टलको दाबी गर्ने सञ्चार मन्त्रालयकै वेबसाइट अडिटमा फेल
काठमाडौं, २७ साउन
सरकारले सबै सरकारी डिजिटल पोर्टल अपाङ्गतामैत्री बनाइएको दाबी गरिरहेका बेला सूचना तथा सञ्चार मन्त्रालयकै आधिकारिक वेबसाइट पहुँचयोग्यताका हिसाबले कमजोर देखिएको छ।
मन्त्रालयको वेबसाइट mocit.gov.np मा गरिएको स्वचालित Accessibility Audit मा १०० मध्ये ३६ अंक मात्र प्राप्त भएको छ। वेबसाइटलाई अडिटमा ‘Not Compliant’ श्रेणीमा राखिएको छ।
११ अगस्ट २०२६ मा गरिएको परीक्षणमा वेबसाइटमा ३४ वटा Critical Issues फेला परेको रिपोर्टमा उल्लेख छ। WebAIM को परीक्षणमा होमपेजमा मात्रै २३ Error, ३ Contrast Error र २७ Alert देखिएका छन्।
अडिटअनुसार वेबसाइटका २२ वटा एलिमेन्टमा ARIA roles गलत प्रयोग गरिएको छ। यसले दृष्टिविहीन प्रयोगकर्ताले प्रयोग गर्ने Screen Reader लाई वेबसाइटका केही लिङ्क तथा बटनको उद्देश्य बुझ्न समस्या पार्ने देखिएको छ।
त्यस्तै, केही सामग्रीमा आवश्यक Colour Contrast नपुगेको, मुख्य H1 heading नभएको र केही H3 तथा H4 heading खाली रहेको पाइएको छ। भाषा परिवर्तन गर्ने ट्रान्सलेटरलगायतका Interactive Elements मा Keyboard बाट पहुँच गर्नसमेत समस्या देखिएको रिपोर्टमा उल्लेख छ।
यी कमजोरीका कारण दृष्टिविहीन, कम दृष्टि भएका तथा किबोर्डबाट मात्र वेबसाइट चलाउने प्रयोगकर्ताले मन्त्रालयको डिजिटल सेवा सहज रूपमा प्रयोग गर्न नसक्ने अवस्था देखिएको छ।
मन्त्रालयले भने हालै सबै सरकारी डिजिटल पोर्टल अपाङ्गता भएका व्यक्तिले सहजै प्रयोग गर्न सक्ने गरी एकीकृत वेबसाइट सञ्चालनमा ल्याइएको दाबी गरेको थियो।
अडिटले वेबसाइटको कोडस्तरमै सुधार गर्नुका साथै सबै पृष्ठको विस्तृत परीक्षण गर्न सुझाव दिएको छ। स्वचालित परीक्षण मात्र पर्याप्त नहुने भन्दै वास्तविक प्रयोगकर्ताको अनुभव समेट्ने म्यानुअल Accessibility Audit समेत गर्नुपर्ने उल्लेख गरिएको छ।
सरकारले डिजिटल सेवा समावेशी र पहुँचयोग्य बनाउने दाबी गरिरहँदा सम्बन्धित मन्त्रालयकै वेबसाइटमा देखिएको यस्तो कमजोरीले सरकारी डिजिटल सेवाको प्रभावकारितामाथि प्रश्न उठाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





