पाँचबुँदे सहमति अस्वीकार गर्दै सडकमा उत्रिए पीडित परिवार र स्थानीय, खुलेन पथलैया–वीरगन्ज सडक
बारा, ५ भदौ
जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर बिहीबार राति सरोकारवाला निकाय, स्थानीय जनप्रतिनिधि र पीडित पक्षका प्रतिनिधिबीच पाँचबुँदे सहमति भएको छ।
सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय, पथलैयामा भएको वार्तामा पीडित परिवारका प्रतिनिधि, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, जिल्ला सुरक्षा समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको सहभागिता थियो।
वार्तामा पीडित परिवारलाई उचित राहत तथा रोजगारीको व्यवस्था गर्न स्थानीय तहको सहभागितामा नेपाल सरकारको गृह मन्त्रालयसमक्ष सिफारिस गरी पहल गर्ने सहमति भएको छ। यस्तै, अनुसन्धानका क्रममा थप दोषी भेटिएमा उनीहरूलाई कानुनबमोजिम कडा कारबाही गर्ने, जिल्लाको वर्तमान तथा भविष्यमा हुनसक्ने सुरक्षा चुनौतीको विश्लेषण गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउने र जिम्मेवार प्रहरी अधिकृतको सरुवालगायतका विषयमा पनि सहमति भएको जनाइएको छ।
उपप्रमुख अधिकारीले वार्तामा भएको सहमतिबारे सडकमा धर्नामा बसेका प्रदर्शनकारीलाई जानकारी गराएका थिए।
तर मृतक बालिकाका बुवा मनोज र आमा मनमतीले उक्त सहमति आफूहरूलाई स्वीकार्य नभएको बताएका छन्। उनीहरूले आफूहरूलाई वार्ताबारे जानकारी नै नभएको भन्दै सडकबाट हट्न अस्वीकार गरेका छन्।
पीडित परिवारले घटनामा संलग्न दोषीलाई आफूहरूको जिम्मा लगाउनुपर्ने तथा प्रधानमन्त्री, गृहमन्त्री र कानुनमन्त्री स्वयं उपस्थित भएर दोषीमाथि कारबाही हुने सुनिश्चितता दिनुपर्ने माग राखेका छन्।
परिवारले प्रदर्शन जारी राखेपछि सहमति भए पनि मंगलबार बिहान ११ बजेदेखि अवरुद्ध पथलैया–वीरगन्ज सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन। सडक अवरुद्ध हुँदा सयौँ मालवाहक तथा यात्रुवाहक सवारीसाधन बाटोमै अलपत्र परेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





