सत्य, निष्पक्ष र विश्वसनीय

कुम्हाल टोलमा सरसफाइसँगै जनचेतनामूलक सडक नाटक सम्पन्न

न्युज डेस्क
२०८३ भाद्र ११, बिहीबार १९:४९

वीरगञ्ज, ११ भदौ
सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल र मूनलाईट इङ्लिस बोर्डिङ स्कुलको सहकार्यमा बिहीबार कुम्हाल टोल क्षेत्रमा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
बिहान ७ः३० बजेदेखि ९ः०० बजेसम्म सञ्चालन भएको कार्यक्रममा मूनलाईट स्काउट समूहको सक्रिय सहभागिता रहेको थियो। स्काउट समूहले कुम्हाल टोल, मूनलाईट स्कुल, ६ नं. गेट, विन टोल, शिव मन्दिर, बुद्ध मन्दिर हुँदै पुनः मूनलाईट स्कुलसम्मको क्षेत्रमा सरसफाइ गरेको थियो।
कार्यक्रमका क्रममा विभिन्न टोलमा जनचेतनामूलक सडक नाटकसमेत प्रस्तुत गरिएको थियो। सडक नाटकमार्फत जथाभावी फोहोरमैला नफाल्ने, घर–टोल तथा वरपरको वातावरण स्वच्छ राख्ने र सरसफाइप्रति प्रत्येक नागरिक जिम्मेवार बन्नुपर्ने सन्देश दिइएको थियो।
सडक नाटक अवलोकन गरेका स्थानीयवासीले कार्यक्रमको प्रशंसा गर्दै यस्ता गतिविधिले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका थिए। सरसफाइ कार्यक्रमले स्थानीयलाई आफ्नो घर तथा टोलको वातावरण स्वच्छ राख्न थप प्रेरित गरेको आयोजकले जनाएको छ।
कार्यक्रमका सभापति श्याम के.सी.ले टोलवासीलाई फोहोर जथाभावी नफाल्न तथा आफ्नो घर, टोल र वरपरको वातावरण स्वच्छ राख्न सचेत र जिम्मेवार बन्न आग्रह गर्नुभयो। उहाँले सरसफाइ कुनै एक व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी नभई सम्पूर्ण समुदायको साझा दायित्व भएको बताउनुभयो।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रकी उपाध्यक्ष श्रीमती सञ्जु दाहाल, सचिव श्रवणबहादुर रायमाझी, स्काउट शिक्षक भुपनारायण पटेल, राजन जोशी, न.प.स. मनोज शाह, रामबाबु रायमाझी, रितु घिमिरे, ज्ञानमाया रायमाझी, शिक्षिका सुनिता दाहाललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
सरसफाइ र सडक नाटकमार्फत सञ्चालन गरिएको कार्यक्रमले समुदायमा स्वच्छता, वातावरण संरक्षण तथा सामाजिक जिम्मेवारीप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास छ। टोल–समुदायलाई स्वच्छ, सफा र व्यवस्थित बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सबै पक्षबीच सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?